पेरिस । स्ट्राइकर लियोनल मेसीले च्याम्पियन्स लिगको अर्को एउटा कीर्तिमान रचे पनि त्यो पेरिस सेन्ट जर्मन (पिएसजी) का लागि बेन्फिकामाथि जित निकाल्न पर्याप्त बनेन ।
बुधबार सम्पन्न समूह एच को खेलमा पिएसजी बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको हो ।
२२औं मिनेटमा मेसीको गोलमा पिएसजीले अग्रता लिएको थियो । यस गोलसँगै मेसी च्याम्पियन्स लिगमा विभिन्न ४० क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
४१औं मिनेटमा पिएसजीका डानिलो पिरेइराको आत्मघाती गोलमा बेन्फिका खेलमा फर्किएको थियो ।
बेन्फिकाका गोन्कालो रामोस र डेविड निरेशको प्रहार विफल पार्दै गोलकिपर जियानलुगी डोनारुमाले पिएसजीको संकट टारेका थिए ।
पिएसजी तीन खेलमा सात अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको बेन्फिकाको पनि समान खेलमा समान सात अंक रहेको छ । तेस्रो स्थानकोयुभेन्टसको तीन अंक छ भने चौथो स्थानको मकाबी हैफाले अंक खाता खोल्न सकेको छैन ।
समूह एच कै अर्को खेलमा युभेन्टसले पहिलो जित निकाल्ने क्रममा हैफालाई ३-१ ले निराश पार्यो ।