एएफसी यु १७ एसियन कप छनोट

नेपाली टोली भियतनाम पुग्यो

काठमाडौं । एएफसी यु १७ एसियन कप छनोटका लागि नेपाली युवा टोली सोमबार भियतनाम पुगेको छ ।

२३ खेलाडी र ८ पदाधिकारी गरि कुल ३१ सदस्यीय नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको थियो । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत महिना श्रीलंकामा सम्पन्न साफ यु १७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका थिए । 

यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसीय यु १७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेनन् ।

टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् ।

अक्टोबर पाँचदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् । नेपालले बुधबार  थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले शुक्रबार घरेलु टिम भियतनामको सामना गर्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले आगामी आइतबार  चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।

छनोट चरणमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कपका लागि छनोट हुनेछ ।