इन्डोनेसियामा फुटबल हिंसा

इन्डोनेसियामा फुटबल खेल दौरान हिंसा भड्कियो , भागदौडमा मृत्यु हुनेको संख्या एक सय ७४ पुग्यो

काठमाडौं । इन्डोनेसियामा शनिबार एक फुटबल खेल दौरान भड्किएको हिंसामा भागदौडको क्रममा मृत्यु हुनेको संख्या एक सय ७४ पुगेको छ । 
सो घटनामा ज्यान गुमाउनेको भन्दा बढिको संख्यामा समर्थक घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार पराजित टिमका समर्थक क्रुद्ध हुँदै मैदान प्रवेश गरेपछि हिंसा भड्किएको थियो ।

इस्ट जावा प्रान्तमा अरेमा एफसी र पर्सेवाया सुरवायाबीच जारी खेलमा आफ्नो टिम हार्न लागेपछि अरेमाका समर्थकहरु जबरजस्ती मैदान प्रवेश गर्न थालेका थिए । ठूलो संख्याका समर्थक मैदान प्रवेश गरेपछि अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले दुई सेल अश्रु ग्यास प्रहार गरेको थियो । त्यही अश्रु ग्यासबाट बाच्न भएको भागदौडमा ठूलो घटना भएको बिबिसीले जनाएको छ ।

इन्डोनेसियाली समाचार माध्यमहरुले इस्ट जावाका पुलिस प्रमूख निको अफिन्टालाई उधृत गर्दै जनाएअनुसार अरेमाका केही समर्थकहरु आफ्नो टिम हार्न लागेपछि मैदानमा प्रवेश गरे । तिनलाई पछ्याउँदै छोटो समयमै ठूलो भिड मैदानमा पुग्यो । तिनै आक्रोषित समर्थकलाई नियन्त्रणमा लिन खोज्दा परिस्थिती नियन्त्रणवाहिर पुग्यो ।

‘रंगशालामा समर्थकहरुबीच आपसी पिटापिट र भागदौड भइरहेको थियो । ३४ जनाको रंगशालामै मृत्यु भयो । अन्यलाई उपचारार्थ अस्पताल पुर्याएपछि मृत्यु भयो । मृत्यु हुनेमा दुई जना पुलिस कर्मचारी पनि छन्,’ अफिन्टाले भने ।

इन्डोनेसिया फुटबल संघ (पिएसएसआई)ले शनिबारै मध्यराति विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । पिएसएसआईले घटनाको अनुसन्धानका लागि एउटा टोली घटनास्थल पठाएको पनि जनाएको छ ।

पिएसएसआईले विज्ञप्तिमा भनेको छ, ‘कन्जरुहान रंगशालामा अरेमाका समर्थकले जस्तो व्यवहार गरे, त्यसको पिएसएसआई खेद प्रकट गर्दछ । हामी यस दुःखद घटनामा परि ज्यान गुमाउने समर्थकका परिवारका साथै यसका अन्य पीडितहरुसँग माफी माग्न चाहन्छौं । पिएसएसआईले यस घटनाको पूर्ण जाँचका लागि टिम गठन गरिसकेको छ र त्यो टिम घटनास्थल गइसकेको छ ।’

पिएसएसआईले यही दुःखद घटनाका कारण तत्काल एक साताका लागि लिगका सबै खेलहरु स्थगित गरेको छ । एक सय ८० जना समर्थक घाइते भएको भनिएको घटनाका कारण अरेमा एफसीमाथि पिएसएसआईले एक सिजनको लागि प्रतिबन्ध लगाएको छ ।

सुरक्षा व्यवस्थाको समिक्षा गर्न आदेश

घटना हुने वित्तिकै इन्डोनेसिया सरकारले उक्त खेल दौरान अपनाइएको सुरक्षा व्यवस्थाको समिक्षा गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको छ । तत्कालका लागि आम मानिसलाई घटनास्थलमा जानबाट रोक लगाइएको छ भने उच्च अधिकारीहरुकै सक्रियतामा घटनाको अनुसन्धान सुरु भइसकेको छ ।

पिएसएसआईले इन्डोनेसियाली फुटबलको छवि यो घटनाले धुमिल बनाएको भन्दै विशेष छानविन सुरु गरेको घोषणा गरिसकेका बेला सरकारी स्तरबाट छुट्टै अनुसन्धान सुरु भएको बताइएको छ ।

फुटबलको निक्कै क्रेज रहेको इन्डोनेसियामा फरक क्लबका समर्थकबीच झगडा भएको यो पहिलो पटक होइन । फुटबलको प्रतिद्धन्द्धीताले बेलाबेलामा हिंश्रक रुप लिने गरे पनि यति ठूलो घटना भएको भने यो पहिलो पटक हो ।