स्पेनिस ला लिगा

बार्सिलोना शीर्ष स्थानमा

मड्रिड । स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले जारी सिजन स्पेनिस ला लिगामा नवौं गोल गरेको दिन शनिबार बार्सिलोनाले रियाल मायोर्कालाई १-० ले पराजित गरेको छ ।

मायोर्कामाथिको जितसँगै सात खेलमा १९ अंक जोडेको बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । जुन दोस्रो स्थानको रियाल मड्रिड भन्दा एक अंक बढी हो । यद्धपी रियालले बार्सिलोना भन्दा एक खेल कम खेलेको छ । एथ्लेटिक बिलबाओ  १६ अंकसहित तेस्रो, रियाल बेटिस १५ अंकसहित चौथो र एट्लेटिको मड्रिड १३ अंकसहित पाँचौ स्थानमा छ । 

आज हुने खेलमा रियालले ओसासुनालाई हराएमा बार्सिलोना दोस्रो स्थानमा झर्नेछ । 

२०औं मिनेटमा लेवान्डोवस्कीले गरेको गोल बार्सिलोनाको जितका लागि पर्याप्त बन्यो । यसै सिजन जर्मन बुन्डेसलिगको क्लब बायर्न म्युनिखबाट बार्सिलोना आएका लेवान्वोस्कीले ला लिगाको सात खेलमा गरेको यो नवौं गोल हो ।

ला लिगाअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा एट्लेटिकोले सेभियालाई २-०, रियाल भालाडोलिडले गेटाफेलाई ३-२ ले हराउँदा भियारियाल र कार्डिचले भने गोलरहित बराबरी खेलेका छन् ।