इङ्लिस प्रिमियर लिग

ब्राइटनसँग घरेलु मैदानमा रोकियो लिभरपुल

लन्डन । लियोनार्डो ट्रोसार्डको ह्याट्रिकमा ब्राइनटनले शनिबार इङलिस प्रिमियर लिगमा लिभरपुललाई ३–३ को बराबरीमा रोकेको छ । 

प्रशिक्षक रोबर्टो डी ज्रेबीको पहिलो खेलमा ट्रोसार्डले दुई गोल गरेसँगै ब्राइटनले लिभरपुलको घरेलु मैदान एन्फिल्डमा १७ मिनेटमा २-० को अग्रता लिएको थियो । ३३औं मिनेटमा रोबेर्टो फिर्मिनोको गोलमा लिभरपुलले खेलमा फर्कने संकेत गरेको थियो । 

५४औं मिनेटमा  फिर्मिनोकै गोलमा लिभरपुल खेलमा फर्कियो । ६३औं मिनेटमा ब्राइटनका एडम वेव्स्टरको आत्मघाती गोलमा लिभरपुलले ३-२ को अग्रता लिएको थियो । 

खेल सकिन सात मिनेट बाँकी रहँदा ट्रोसार्डले ह्याट्रिक पूरा गरेसँगै ब्राइटनले लिभरपुलको स्पष्ट तीन अंक जोड्ने लक्ष्यमा पूर्णविराम लगाइदिएको हो ।

ब्राइटन सात खेलमा १४ अंकसहित चौथो स्थानमा छ भने लिभरपुल सात खेलमा १० अंकसहित नवौं स्थानमा छ । 

शनिबार नै भएका अन्य खेलमा चेल्सीले क्रिस्टल  प्यालेसलाई २-१ ले हराउँदा एभर्टनले साउथहमटनलाई २-१ ले निराश पार्यो । ब्रेन्टफोर्ड र बर्नमाउथले भने गोलरहित बराबरी खेले ।

आर्सनलले भने शनिबार चाँडो गरी सम्पन्न खेलमा टोटनहमलाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो ।