किलियन एमबाप्पे

‘हाल्यान्ड र एमबाप्पे मेसी र रोनाल्डोको स्तरसम्म पुग्न सक्छन्’

लन्डन । लिभरपुल तथा पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्व मिडफिल्डर मोहमेद सिसेकोले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्यान्ड र पिएसजीका फरवार्ड किलियन एमबाप्पे नयाँ मेसी र रोनाल्डो भएको बताएका छन् ।

पछिल्लो केही सिजनयता उच्च लयमा देखिएका हाल्यान्ड र एमबाप्पेले अहिले गोल मेसिनजस्तै बनेका छन् ।

साढे दुई वर्ष बुन्डेसलिगामा बिताएका हाल्यान्डले बोरुसिया डर्टमन्डका लागि ६७ गोल गरेका थिए । यही सिजन इङ्लिस क्लब भित्रिएका हाल्यान्डले सिटीबाट १० खेलमा १४ गोल गरिसकेका छन् ।

यस्तै, पिएसजीका स्ट्राइकर एमबाप्पेले क्लबका लागि यस सिजन लिग वानका सात खेलमा सात गोल गरेका छन् ।

दुवै खेलाडीमा असाधारण प्रतिभा रहेको भन्दै मोहमेद सिसेकोले उनीहरुलाई नयाँ लियोनल मेसी र किस्टियानो रोनाल्डोको ‘ट्याग’ दिएका हुन् ।

‘उनीहरुले अहिले धेरै गोलहरु गरिरहेका छन् । उनीहरु एकअर्काभन्दा फरक क्षमता भएका खेलाडी पनि हुन् । एमबाप्पे र हाल्यान्ड उत्कृष्ट खेलाडी हुन् । मलाई लाग्छ उनीहरु मेसी र रोनाल्डोको स्तरसम्म पुग्न सक्छन्,’ सिसेकोले भने ।