इङ्लिस प्रिमियर लिग

क्लब भविष्य बारे कोन्टे निश्चिन्त

लन्डन । यसै सिजनको अन्त्यपछि क्लबसँगको सम्झौता अन्त्य हुने भए पनि टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले आफ्नो क्लब भविष्य बारे चिन्तित नभएको बताएका छन् ।

सम्झौता अनुसार टोटनहमले कोन्टेसँग थप एक वर्षको लागि सम्झौता नविकरण गर्न सक्ने उल्लेख गरिएको छ । केही संचारमाध्यमले कोन्टे यस सिजनको अन्त्यपछि इटालियन सिरी ‘ए’ को क्लब युभेन्टस जाने दाबी गरेका थिए ।

आर्सनलको भ्रमण गर्नुअघि बिहीबार कोन्टे आफू टोटनहमको प्रशिक्षणमा रहँदा युभेन्टस जान्छ भन्नु आफ्नो अपमान भएको प्रतिक्रिया दिएका थिए ।

युभेन्टसले पनि नयाँ प्रशिक्षक ल्याउन कुनै हतार नभएको प्रतिक्रिया दिइसकेको छ ।

‘सम्झौता यस सिजनसम्म मात्र बाँकी भए पनि क्लब र मैले यो सहकार्यलाई निरन्तरता दिने निर्णय लिन पनि सक्छौ’,कोन्टेले भने,' क्लबले चाँहेको खण्डमा सम्झौता बाँकी रहँदा समेत म बाहिरिन सक्छु । म अहिले टोटनहमको प्रशिक्षणमा रमाइरहेको छु । नयाँ गन्तब्यको बारेमा मैले केही सोचेको छैन । क्लब व्यवस्थापनसँग पनि मेरो राम्रो सम्बन्ध  छ । हामी यस सिजन उत्कष्ट नतिजा ल्याउनेमा विश्वस्त छौ ।