कतार विश्वकप २०२२

कतारको विरोधमा ‘शोकको रंग’ मा डेनमार्कको जर्सी

लन्डन । आयोजक कतारको विरोधमा डेनमार्कले आसन्न विश्वकपमा कालो रंगको जर्सी लगाउने भएको छ ।

कतारले विश्वकप आयोजनाको अधिकार पाएपछि रंगशाला निमार्णका क्रममा मजदुरहरुको मानवअधिकारमा गम्भिर उल्लंघन भएको भन्दै चर्को विरोध भइरहेको छ ।

डेनमार्कको किट प्रदायक ह्युमेलले ‘शोकको रंग’ को प्रतिनिधित्व गर्न तेस्रो किट सबै कालो बनाएको हो ।

ह्युमेलले हजारौ मानिसको ज्यान लिएको प्रतियोगितामा देख्न नचाहेका कारण यस्तो किट बनाएको जनाएको छ ।

‘हामी डेनमार्कलाई समर्थक गर्छौं तर कतारलाई आयोजक राष्ट्रको रुपमा समर्थन गर्नु जस्तो होइन,’ ह्युमेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केही अन्तर्राष्ट्रिय मानवअधिकार आयोगले विश्वकपका लागि रंगशाला निमार्ण गर्ने क्रममा तीन हजार कामदारको मृत्यु भएको सार्वजनिक गरेका थिए ।