नेपाली फुटबल

फेरि एक पटक रंगशालामा भिड्दै नेपाल र बंगलादेश

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाल घरेलु मैदानमा उत्रँदा तत्कालिन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादपछि राष्ट्रिय टोलीमा रहेका खेलाडीले टोलीमा पुनरागमन गर्दैछ ।

एफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षणमा रहेको टोलीका खेलाडी र प्रशिक्षक अल्मुताइरीबीच खेलाडीले प्राप्त गर्ने सेवा सुबिधाको विषयमा विवाद भएपछि १० खेलाडीले असन्तुष्टी जनाउँदै बन्द प्रशिक्षणबाट बाहिरएका थिए ।

यसरी बाहिरिनेमा रोहित चन्द, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, विमल घर्तीमगर, सुजल श्रेष्ठ, तेज तामाङ, दिशेन राजवंशी लगायत थिए । प्रशिक्षक अल्मुताइरीको निर्णयमा  असन्तुष्टी जनाएको भन्दै कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई समेत टोली बाहिर राखिएको थियो ।

अल्मुताइरी बिदामा बसेको भन्दै एन्फाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीको प्रशिक्षण प्रदिप हुमागाईलाई दिएको थियो । दुई साताअघि मात्र अल्मुताइरीले नेपालको प्रशिक्षण छोडेको घोषणा गरेका थिए । त्यसैले बंगलादेशविरुद्धको खेलमा जितसहित हुमागाई राष्ट्रिय टोलीको प्रशिक्षणलाई निरन्तरता दिने लक्ष्यमा छन् ।

यता त्यो विवादपछि राष्ट्रिय टोलीबाट बाहिर रहेका खेलाडीका लागि पनि आफूहरु अझैः स्वभाविक लयमा रहेको सन्देश दिन बंगलादेशविरुद्धको खेल अर्थपूर्ण मानिएको छ ।

नेपालले पछिल्लो पटक एएफसी एसियन कप छनोट २०२३ पछि कुनै पनि खेल खेलेको छैन । छनोट चरणमा नेपालले जोर्डनलाई २–१, कुवेतलाई ४–१ र इन्डोनेसियालाई ७–० को नतिजा सुम्पिएको थियो ।

दशरथ रंगशालामा भने नेपालले पछिल्लो पटक जनवरी २९ र फेब्रुअरी १ मा मोरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेल नेपालले समान १–० ले जितेको थियो ।

नेपाल र बंगलदेशको सिनियर टोली पछिल्लो पटक सन् २०२१ अक्टोबर १३ मा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको समूह चरणमा भिडेका थिए । जहाँ यी दुई टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए । सो बराबरीपछि नेपालले शीर्ष दुईमा बस्दै प्रतियोगिताको फाइनलको टिकट काटेको थियो ।

त्यसअघि सन् २०२१ मार्च २९ मा काठमाडौंमा सम्पन्न थ्री नेसन्स कपको समूह चरण र फाइनल गरि नेपाल र बंगलादेशबीच दुई पटक भेट भएको थियो । समूह चरणमा बंगलादेशलाई रोकेको नेपालले फाइनलमा उसैलाई पराजित गर्दै उपाधि जितेको थियो ।

बंगलादेशले गत साता मात्र मैत्रीपूर्ण खेलमा कम्बोडियालाई १–० ले हराएको थियो । जसले बंगलादेशी टोलीको मनाोबल उच्च छ ।

नेपाल र बंगलादेश अहिलेसम्म २४ पटक आमने सामने भएका छन् । जसमध्ये ७ खेल नेपालले जितेको छ भने १२ खेल बंगलादेशले जितेको छ । त्यस्तै पाँच खेल भने बराबरीमा टुङगिएको छ ।