स्पेन

बालन डी’अर विजेता पुटेलस खेलाडीको पक्षमा

मड्रिड । बालन डी’अर विजेता एलेक्जिया पुटेलस प्रशिक्षकलाई बर्खास्त गर्नुपर्ने भनेका १५ जना खेलाडीको पक्षमा उभिएकी छिन् ।

यसअघि स्पेनिस महिला टिमका १५ जना खेलाडीले प्रशिक्षक जर्ज भिल्डालाई बर्खास्त गर्नुपर्ने नत्र आफूहरुले राष्ट्रिय टिमबाट नखेल्ने चेतावनी दिएका थिए ।

यसको प्रतिकृयामा स्पेनिस फुटबल संघले खेलाडीहरुको दबाबमा प्रशिक्षकलाई बर्खास्त गर्नु फुटबलको मान्यताबाहिर रहेको भन्दै उनीहरुको मागलाई सम्बोधन गर्न नसक्ने स्पष्ट पारेको थियो । संघले राष्ट्रिय टिमबाट खेल्न नचाहने खेलाडीलाई कुनै पनि प्रकारको दबाब नदिनेसमेत जनाएको थियो ।

तर, खेलाडीहरुले यसबारे स्पष्ट पार्दै आफूहरुले कहिल्यै प्रशिक्षकलाई बर्खास्त गर्नु नभनेको बताएका थिए । उनीहरुले प्रशिक्षकले भनेअनुरुपको पोजिशन रोज्नु आफूहरुको काम नभएको बताएका थिए । खेलाडीहरुले आफूहरु ‘ब्लाकमेल’ नगरेको समेत जनाएका थिए ।

यसबारे बालन डी’अर विजेता पुटेलस पनि खेलाडीको पक्षमा उभिएकी हुन् । चोटका कारण हाल पुटेलस स्पेनिस टिमबाहिर छिन् ।