रसिया-युक्रेन तनाव

रसिया र बेलारुसलाई युरो २०२४ छनोटबाट बाहिर राख्न जर्मन मन्त्रीको आग्रह

वर्लिन । जर्मनीको संघीय गृहमन्त्री न्यान्सी फेसरले अर्को महिनादेखि सुरु हुने युरो २०२४ को छनोटबाट रसिया र बेलारुसलाई बाहिर राख्न युइएफएलाई आग्रह गरेकी छन् ।

फेसरले युइएफएलाई एक पत्र लेख्दै युक्रेन र रसियाबीचको जारी युद्धलाई कारण देखाउँदै रसिया र बेलारुसलाई प्रतियोगिताबाट बाहिर राख्न आग्रह गरेका हुन् ।

फेब्रुअरीमा रसियाले युक्रेनमाथि सैन्य कारवाही सुरु गरेपछि युइएफए र फिफाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्ने रसिया र बेलारुसलाई अनिश्चित कालसम्मका लागि फुटबलबाट प्रतिबन्ध गर्ने जनाएका थिए ।

युइएफएले रसियाका क्लबहरुलाई महादेशीय प्रतियोगिता खेल्न नपाउने र महिला युरोबाट रसियालाई बाहिर राख्ने निर्णय गरेको छ । तर, यसमा सन् २०२४ को युरोपियन च्याम्पियनसिपका बारेमा भने यी दुई टिमबारे कुनै निर्णय उल्लेख छैन ।

यसैकारण जर्मन गृहमन्त्री फेसरले युइएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिनलाई पत्र लेख्दै रसिया र बेलारुसलाई छनोटबाट बाहिर राख्न आग्रह गरेकी हुन् ।

‘रसियामात्र नभई रसियालाई आवश्यक सहयोग गर्ने बेलारुसलाई पनि सबैखाले अन्तर्राष्ट्रिय फुटबल खेल र प्रतियोगिताबाट बाहिर राख्न आग्रह गर्दछु,’ फेसरले लेखेको पत्रमा उल्लेख छ ।