कतार विश्वकप २०२२

कतार विश्वकप २०२२ को प्रत्यक्ष प्रसारण मिडिया हबमा

काठमाडौं । आगामी डिसेम्बरमा कतारमा आयोजना हुने विश्वकप फुटबल २०२२ को प्रत्यक्ष प्रसारण नेपालका विभिन्न टेलिभिजन माध्यमबाट मिडिया हबले देखाउने भएको छ ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले विश्वकप फुटबल नेपालको भू–सतही, स्याटलाइट, डिटिएच, केबल, ब्रोडब्याण्ड र मोबाइल तथा अन्य विद्युतिय प्रसारणको एकाधिकारबाट प्राप्त गरी सकेको जानकारी दिए ।

यसैगरी अध्यक्ष धितालले विश्वकप २०२२ को, लोगो र मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रालिमा मात्रै सिमित रहेको समेत बताए ।

उक्त कार्यक्रममा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज र भायानेट कम्युनिकेसन प्रालिसँग पनि सहकार्यको लागि छुट्टा–छुट्टै सम्झौतामा हस्ताक्षर भएको थियो ।

सो सम्झौतामा मिडिया हबका अध्यक्ष धिताल र भायानेट कम्युनिकेसन प्रालिका निर्देशक विनय बोहरा र एनआईटिभी स्ट्रीम्जका अध्यक्ष मनोजकुमार अग्रवालले हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार दुई कम्पनिमार्फत टेलिभिजन लाईन लिएका नेपाली दर्शकहरुले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् ।

यसैगरी विज्ञापन बिक्री प्रबन्धको मार्केटिङ पार्टनरका लागि एडप्याड एक्युजिशन प्रालिका प्रबन्ध निर्देशक सुरज गिरीले हस्ताक्षर गरे ।