स्पेनिस ला लिगा

मानव जीवन फुटबलभन्दा धेरै माथि छ: जाभी

मड्रिड । बार्सिलोनाका मुख्य प्रशिक्षक जाभीले ‘एक मानिसको जीवन फुटबलभन्दा ठूलो’ भएको बताएका छन् । स्पेनिस ला लिगाअन्तर्गत शनिबार बार्सिलोना र कार्डिजबीचको खेलका दौरान एक समर्थक मैदानमै ढलेका थिए ।

कार्डिजको मैदानमा भएको समर्थक मैदानमा ढल्दा बार्सिलोनाले खेलमा २-० को अग्रता बनाएको थियो । तर, समर्थक प्यारापिटमा ढलेपछि खेल सकिन ९ मिनेठ बाँकी रहदा केहीबेर रोकिएको थियो । र, स्वास्थ्य इमर्जेन्सीका कारण खेलाडीहरुलाई मैदानबाट केहीबेर बाहिर निकालिएको थियो ।

खेलपछि उक्त घटनाको बारेमा बोल्दै बार्सिलोनाका प्रशिक्षक जाभीले मानव जीवन फुटबलभन्दा धेरै माथि रहेको बताए ।

‘कसैले समर्थक प्यारापिटमा ढलेको बताए, कसैले ह्रदयघात भएको बताए । यदी त्यहाँ कुनै दुर्भाग्य भएको भए, हामीले खेल बन्द गर्ने थियौं,’ जाभीले भने, ‘हामी मानव जीवनको बारेमा कुरा गर्छौं र त्यो फुटबलभन्दा माथि छ । भाग्यवस् त्यहाँ कुनै नराम्रो हुन पाएन । यसैकारण हामीले खेल पुनः सञ्चालन गर्यौं । सबैभन्दा महत्वपूर्ण कुरा मानवता हो ।’

खेलमा बार्सिलोनाले कार्डिजमाथि ४-० को जित निकालेको थियो ।