चिडियादह नकआउट फुटबल

आयोजक चिडियादह स्टार क्लबको विजयी सुरुआत

चन्द्रपुर । प्रथम चिडियादह नकआउट फुटबल प्रतियोगितामा आयोजक चिडियादह स्टार क्लबले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा चिडियादहले शुक्रबार इन्द्रेणी युवा क्लबमाथि ६-० को सहज जित निकाल्यो ।

चिडियादहको जितमा रुपक लामाले दुई गोल गर्दा रोशन पहरी, राजु पहरी, सागर चौधरी र सञ्जिव कार्कीले समान एक गोल गरे ।

चन्द्रपुर-५ स्थित आयोजकको खेल मैदानमा सम्पन्न खेलको १६औं मिनेटमा सञ्जिव गोल गर्दै चिडियादहलाई अग्रता दिलाए । खेलको २१औं मिनेटमा सागरले आयोजकको अग्रतालाई दोब्बर पारे । त्यसको दुई मिनेटपछि रुपकको गोलबाट तेस्रो अग्रता लिएको चिडियादहका लागि २६औं मिनेटमा रोशनले गोल गर्दै टिमको अग्रतालाई ४-० मा पूर्याए ।

यस्तै, ३२औं मिनेटमा रुपकले दोस्रो गोल गर्दा चिडियादहले अग्रतालाई ५-० मा पूर्याए ।

पहिलो हाफमा पाँच गोल गरेको आयोजक टोलीले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ७५औं मिनेटमा राजुले गोल गर्दै टिमलाई ६-० मा पूर्याए ।

उद्घाटन खेलमा दुई गोल गरेका रुपक खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले एक हजार रुपैयाँ र ट्रफी पाए ।

आजदेखि सुरु भएको नकआउट पद्दतिमा चल्ने प्रतियोगितामा १० टिमको सहभागिता छ ।

प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ ले एक हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।

प्रतियोगिताको उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, रक्षक र प्रशिक्षकले जनही दुई हजार पाँच सय रुपैयाँ र ट्रफी पाउनेछन् । यस्तै, प्रतियोगितोका उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँसँगै ट्रफी पाउने आयोजकले बताए ।