महिला टिममा राैतहटका खेलाडी

रौतहटका सात खेलाडीले साफ महिला च्याम्पियनसिप खेल्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण आज (मंगलबार) देखि काठमाडौंमा सुरु हुँदैछ ।

प्रतियोगितामा नेपाली महिला फुटबलको पर्याय रौतहटका सात खेलाडीले स्थान बनाएका छन् । महिला फुटबलका लागि उर्वर भूमी रौतहटका खेलाडीका लागि विभागीय क्लबको लागि समेत आर्कषणको केन्द्र बन्ने गर्छन् ।

यस पटक साफका लागि घोषित टिममा रौतहटकी समिक्षा घिमिरेले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी छिन् । साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणका लागि नियमित कप्तान रौतहटकै रेनुका नगरकोटे थिइन् । तर, बन्द प्रशिक्षणका दौरान क्ल्यारिकल बोन (ब्युटि बोन) मा चोट लागेपछि नेपाली टिमको मुख्य प्रशिक्षक कुमार थापाले टिमको जिम्मेवारी एन्जिला तुम्बाप्पे सुब्बालाई सुम्पिएका छन् ।

दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आज घरेलु टिम नेपालले भुटानको सामना गर्दैछ । खेल साँझ ५ः३० बजेदेखि सुरु हुँदैछ ।

साफको लागि घोषित नेपाली टिममा समेटिएका रौतहटका सात खेलाडी:

 मञ्जलीकुमारी योञ्जन

नेपाल महिला टोलीमा मञ्जलीकुमारी योञ्जनको नाम सधै चर्चामा रहन्छ । पासिङ, स्कोरिङ र रनिङ उत्कृष्टतासँगै सहकर्मीसँग समेत मञ्जलीको सम्बन्ध सुमधुर छ । बोल्दा समेत नापेर बोल्ने मञ्जली खेल्दा भने निकै आक्रामक देखिन्छिन् । २१ वर्षीय मञ्जलीले राष्ट्रिय टिमबाट ३२ खेल खेलेकी छिन् । नेपाली महिला फुटबलको उर्भरभूमि रौतहटकी मञ्जलीले हालसम्म चार गोल गरेकी छिन् । घरेलु फुटबलमा भने उनि विभागीय एपिएफ क्लबमा अनुबन्ध छिन् । मिडफिल्डर तथा विंगर मञ्जली प्लेइङ सेटमा आफूलाई स्थापित गर्दै आएकी छिन् ।

निशा थोकर

डिफेन्डर निशाले तेस्रो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । यद्यपि, हालसम्म डेब्यु अवसर पाएकी छैनन् । सेन्ट्रल डिफेन्डर निशा घरेलु मैदानमा हुने साफमा डेब्यु पर्खाइमा छिन् । उनि प्रशिक्षक कुमार थापासँग यहि आशा गर्छिन् । नेपाल यु-१५, १६, १९ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएकी २२ वर्षीय निशा रौतहट जिल्लाकी हुन् । उमेर समूहमा भने निशाले आफूलाई प्रमाणित गरिसकेकी छिन् । राष्ट्रिय टोलीमा अमृता जैशी, गीता राना र पुनमजर्घा मगर जस्ता प्रभावशाली खेलाडी रहँदा निशाले अझै डेब्युको लागि समय कुर्नुपर्ने हुन्छ ।

पुनम जर्घामगर

पछिल्लो दुई प्रतियोगितामा स्वास्थ्यमा समस्या देखिएपछि पुनम जर्घामगर टिम बाहिर थिइन् । तर, स्वास्थ्य पूर्ण ठिक भएपछि पुनम राष्ट्रिय टोलीमा कमब्याक गर्न सफल भइन् । प्रशिक्षक कुमारले २९ वर्षीय पुनमलाई करिब एक वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गराएका हुन् । रौतहटकी पुनम त्रिभुवन आर्मी फुटबल क्लबकी डिफेन्डर समेत हुन् । फुल ब्याक पुनम सेटपिसमा गोल गर्न समेत खप्पिस छिन् । हाल राष्ट्रिय टोलीमा ३५ खेल खेलेकी पुनमले १ गोल गरेकी छिन् । विराटनगरमा पुनमले सेट पिसमै श्रीलंकाविरुद्ध सुरुआती गोल गरेकी थिइन् ।

रश्मीकुमारी घिसिङ

उमेर समूह तथा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसँगै फरवार्ड रश्मीकुमारी घिसिङ राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । नेपालको यु १६, १८ टिमबाट उत्कृष्ट प्रदर्शनसँगै उनि राष्ट्रिय टोलीमा स्थान बनाउन सफ भएकी हुन् । गत भदौमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा रश्मीलाई प्रशिक्षक ग्यारी फिलिप्सले डेब्यु गराएका हुन् । त्यस यता २१ वर्षीय रश्मीले विना गोल चार खेल खेलेकी छिन् । हाल घरेलु प्रतियोगिता भने रश्मीले त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्दै आएकी छिन् । ७८ सालमा आयोजना भएको महिला राष्ट्रिय लिगको पहिलो चरणमा रश्मीले सात गोल गरेकी थिइन् । ७७ मा आर्मी राष्ट्रिय लिगको उपविजेता हुँदा रश्मीले १६ गोल गरेकी थिइन् ।

अनिता केसी

पछिल्लो समय अनिता केसी राष्ट्रिय टोलीकी नियमित सदस्य हुन् । यद्यपि, अवसर भने कम पाउने गर्छिन् । रौतहट जिल्लाकी २५ वर्षीय अनिता एपिएफ फुटबल क्लबमा आवद्ध छिन् । राष्ट्रिय टोलीमा अनिताले १७ खेल खेलेकी छिन् । अनिता राष्ट्रिय टोलीमा वैकल्पिक स्ट्राइकरको रुपमा चिनिन्छिन् ।  

अन्जना रानामगर

सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु यता गोलडिफेन्डर अन्जना रानामगर नियमित सदस्य बनेकी छिन् । रौतहटकी २० वर्षीय अन्जना लगातार साफ खेल्ने टोलीमा स्थान बनाउन सफल भइन् । सिनियर टोलीमा दोस्रो रोजाइ गोलडिफेन्डर छवि बनाएकी अन्जनाले नेपालको यु-१५, १६, १८ र १९ उमेर समूहबाट खेलिसकेकी छिन् । यु-१९ टोलीको कप्तान समेत रहेकी अन्जनाले सिनियर टोलीबाट ६ खेल खेलेकी छिन् ।  

समिक्षा घिमिरे 

समिक्षा घिमिरे पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । विभागीय टोली नेपाल पुलिस क्लबकी डिफेन्डर समेत रहेकी समिक्षालाई घरेलु प्रतियोगिताको प्रदर्शन आधारमा टोलीमा समावेश गरेका हुन् । समिक्षा प्रशिक्षक थापाबाट घरेलु मैदानमा डेब्युको पर्खाइमा छिन् । २१ वर्षीय रौतहटकी समिक्षाले नेपालको यु १५, १६, १८ र १९ टिमबाट समेत खेलिसकेकी छिन् ।