खेलाडी सरुवा

कासेमेरोको नयाँ गन्तव्य युनाइटेड !

मड्रिड । रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले मिडफिल्डर कासेमेरोले म्यानचेस्टर युनाइटेडसँग सम्झौताको नजिक रहेको पुष्टि गरेका छन् ।

बिहीबार कासेमेरोले मड्रिड छोड्ने खबर सार्वजनिक हुँदा म्यानचेस्टर युनाइटेड ३० वर्षीय ब्राजिलियन मिडफिल्डरलाई भित्र्याउनेमा विश्वस्त देखिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कासेमेरोको सम्झौता रकम ६० मिलियन युरो भएको खुलाएका छन् । कासेमेरोले ला लिगाअन्तर्गत सेल्टा भिगोसँगको खेलअघि रियाल मड्रिडको टिमसँगै प्रशिक्षण गरिरहेका छन् । तर, खेलअघिको पत्रकारसम्मेलनमा प्रशिक्षक एन्सेलोट्लीले कासेमेरो युनाइटेडसँगको सम्झौता नजिक रहेको खुलाएका हुन् ।

‘हामीले विहानी सत्रमा कुराकानी गरेका थियौं । कासेमेरो नयाँ चुनौती, नयाँ अवसरमा आफूलाई परिक्षण गर्न चाहन्छन् । म उनको चाहनालाई बुझ्छु र क्लबले पनि,’ एन्सेलोट्टीले भने ।

नौ दिनअघि मात्र रियाल मड्रिडले आइनट्राच्ट फ्रयांकफर्टलाई हराउँदै सुपरकोपाको उपाधि जित्दा कासेमेरो ‘प्लेअर अफ दी म्याच’ चुनिएका थिए ।