अभ्यास खेलमा नेदरल्यान्ड्सको प्रभावशाली जित


एम्सटरड्याम, (खेलाडी)- मेम्फिस डिपाएले पेनाल्टीमा गोल गरेको दिन नेदरल्यान्ड्सले गएराति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्जियालाई ३-० ले पराजित गरेको छ । 

बार्सिलोनाले भित्र्यााउन चाहेका डिपाएले यसअघि स्कटल्यान्डविरुद्ध पनि दुई गोल गरेका थिए । डिपाएले दशौं मिनेटमा गरेको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो । वोउट वेगहेर्सटले ५५औं मिनेटमा अग्रता दोब्बर बनाए । रायन ग्राभेनबर्चले ७६औं मिनेटमा अर्को गोल थप्दै नेदरल्यान्ड्सलाई सहज जित दिलाएका थिए । 

नेदरल्यान्ड्सले अब १३ जुनमा युक्रेनविरुद्धको खेलबाट युरो २०२० को सुरुआत गर्नेछ । १७ जुनमा अस्ट्रियाविरुद्ध खेल्ने नेदरल्यान्ड्सले समूह ‘सी’ को अन्तिम खेल २१ जुनमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्नेछ । 

इर्लिङ हालान्डको नर्वे पराजित

इर्लिङ हालान्डको नर्वे भने मैत्रीपूर्ण खेलमा ग्रिससँग २-१ ले पराजित भएको छ । ग्रिसले जियोर्गोस मासौरसको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो । थानासिस एन्ड्रोउटसोसले २१औं मिनेटमा अग्रता दोब्बर बनाए । नर्वेका लागि ६४औं मिनेटमा स्टेफन स्ट्यान्डबर्गले गोल गरे । 

अन्य खेलमा स्कटल्यान्डले लक्जेम्बर्गलाई र माल्डोभाले अजरबैजानलाई समान १-० को अन्तरमा पराजित गरे ।