नाक भाँचिएका डी ब्रुयनासँग चेल्सीका रुडिगरले मागे माफी

लन्डन, जेठ १७ (खेलाडी)– चेल्सीका रक्षक एन्टोनियो रुडिगरले म्यानचेस्टर सिटीका रक्षक मिडफिल्डर केभिन डी ब्रुयनासँग माफी मागेका छन् । च्याम्पियन्स लिगको फाइनलमा रुडिगरसँग ठोक्किदा डी ब्रुयनाको नाकमा चोट लागेको थियो । 


डी ब्रुयनाले भनेका छन्, ‘भर्खर अस्पतालबाट फर्किएँ । मेरो नाकको हड्डी र वायाँ अर्बिटल भाँचिएको छ । फाइनलको नतिजाबाट म दुखी छु । तर हामी आगामी दिनमा राम्रो गर्नेछौं ।’


डी ब्रुयनासँग क्षमा माग्दै रुडिगरले भनेका छन्, ‘डी ब्रुयनाको चोटमा म क्षमा चाहन्छु । पक्कै पनि मैले नियतवस त्यस्तो गरेको थिइनँ । डी ब्रुयनासँग व्यक्तिगत रुपमा मेरो राम्रो सम्बन्ध छ । उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उनी चाडै मैदानमा फर्किएको हेर्न चाहन्छु ।’

 
नाकमा चोट लागेपछि डी ब्रुयनाले ६०औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा ग्याब्रियल जिसस मैदान छिरेका थिए । च्याम्पियन्स लिगको फाइनलमा सिटी चेल्सीसँग १–० ले पराजित भएको थियो । 
  

डी ब्रुयना आसन्न युरोपियन च्याम्पियनसिप (युरो २०२०) का लागि बेल्जियमको टिममा पनि छन् । बेल्जियमले १२ जुनमा रुसविरुद्धको खेलबाट प्रतियोगिताको शुरुआत गर्नेछ ।