कतार विश्वकप २०२२

कतार विश्वकप निर्धारित समयभन्दा एक दिन छिटो सुरु हुने

काठमाडौं । कतार विश्वकप पूर्व निर्धारित समयभन्दा एक दिन छिटो सुरु हुने भएको छ ।

नयाँ निर्धारित तालिकाअनुसार अब आयोजक कतारले नोभेम्बर २० मा इक्वेडरसँग खेल्नेछ । यसअघि कतारले प्रतियोगिताको तेस्रो खेलको रुपमा नोभेम्बर २१ मा सेनेगलविरुद्ध खेल्ने तालिका थियो ।

तर, फिफाले घरेलु टिमले पहिलो खेल खेल्ने परम्परालाई जारी राख्दै कतार र इक्वेडरबीचको पहिलो खेलाउने निर्णय गरेको हो । यी दुई टिमबीचको खेल नोभेम्बर २० मा स्थानीय समयअनुसार साँझ सात बजेदेखि सुरु हुनेछ ।

यस्तै, प्रतियोगिताको उद्घाटन समारोह पनि एक दिन अघि सारिएको छ ।

‘फिफा विश्वकप २०२२ स्थानीय र अन्तर्राष्ट्रिय समर्थकहरुमाझ लागि अझ ठूलो उत्सवको रुपमा सुरु हुनेछ । आयोजक कतारले नोभेम्बर २० मा प्रतियोगिताको पहिलो खेलको रुपमा इक्वेडरसँग खेल्नेछ,’ फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फिफाले प्रतियोगिताको पहिलो खेलमा आयोजक वा साविक विजेताले खेल्ने लामो समयदेखि चलिआएको परम्परालाई निरन्तरता दिन यो निर्णय गरिएको जनाएको छ ।