इङ्लिस प्रिमियर लिग

भार्डी लेस्टरमै रहनेमा रोजर्स आशाबादी

लन्डन । इङलिस प्रिमियर लिगको क्लब लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्सले स्ट्राइकर जेमी भार्डीसँगको सम्झौता नविकरणको प्रयास जारी रहेको बताएका छन् ।

भार्डी सन् २०१२ मा लेस्टर  आएका थिए । उनले लेस्टरबाट सबै प्रतियोगिता गरि ३ सय ८६ खेलमा १ सय ६४ गोल गरिसकेका छन् ।

लेस्टरले २०१५-१६ सिजनमा प्रिमियर लिगको उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए । भार्डीले सो सिजन टोलीका लागि २४ गोल गरेका थिए ।

भार्डी र लेस्टरबीचको सम्झौता अन्त्य हुन अब मात्र एक वर्ष बाँकी छ । रोजर्स भने भार्डीले लेस्टरसँग नयाँ सम्झौता गर्नेमा आशाबादी देखिएका छन् ।

‘भार्डी टोलीको प्रमुख खेलाडी हुन् र उनी लेस्टरमै रहन्छन् भन्नेमा हामी आशाबादी छौ,' रोजर्सले भने, ‘हामी यहाँ उनको बसाई थप गर्न चाहन्छौ । भार्डी टोलीका अन्य खेलाडीलाई प्रेरणाको स्रोत हुन् । उनले पनि अन्यत्र जाने इच्छा देखाएका छैनन ।’

भार्डीले घुँडाको चोटका कारण करिब चार महिना मैदानबाहिर बिताएका थिए ।