करिम बेन्जेमा

रियाल मड्रिडमा बेन्जेमाले तोडे राहुलको कीर्तिमान

मड्रिड । करिम बेन्जेमा स्पेनिस क्लब रियाल मड्रिडबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा उक्लिएका छन् ।

बुधबार सम्पन्न सुपर कपमा फ्रायंकफर्टविरुद्ध एक गोल गरेसँगै बेन्जेमाले यसअघि मड्रिडबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा रहेका राहुल गोन्जालेजलाई उछिनेका हुन् ।

युइएफए च्याम्पियन्स लिग विजेता रियाल मड्रिडले बुधबार फ्रयांकफर्टलाई २–० ले पराजित गर्दै सुपर कपको उपाधि जितेको थियो । रियालबाट बेन्जेमासँगै डेविड अलावाले गोल गरेका थिए ।

रियाल मड्रिडका लागि बेन्जेमाले हालसम्म तीन सय २४ गोल गरेका छन् । यस्तै, उनले पछि पारेसँगै तेस्रो स्थानमा पुगेका राहुलले तीन सय २३ गोल गरेका छन् ।

रियाल मड्रिडका लागि सर्वाधिक गोल भने क्लबका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोका नाममा छ । रियालबाट रोनाल्डोले चार सय ५० गोल गरेका छन् ।