फिफा फुटबल अवार्ड २०२१

फिफाको निर्णय नमान्ने ब्राजिलको संकेत

रियो दि जेनेररियो । ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल पुनः खेल्नु पर्ने फिफाको निर्णयको विरोध गरेको छ ।

कतार विश्वकप २०२२ नोेभेम्बरबाट सुरु हुँदैछ । ब्राजिल भने खेलाडीको चोटको डरका कारण अर्जेन्टिनाविरुद्धको खेल खेल्न चाहदैन ।

ब्राजिल शीर्ष स्थानमा र अर्जेन्टिना दोस्रो स्थानमा बस्दै कतार विश्वकपका लागि छनोट भइसकेका छन् । गत सेप्टेम्बरमा सओ पाउलोमा ब्राजिल र अर्जेन्टिनाबीचको खेलको छैटौ मिनेट जारी रहँदा ब्राजिलका स्वास्थ्य अधिकारीहरु मैदान प्रवेश गरेपछि खेल रोकिएको थियो ।

 अर्जेन्टिनाका चार खेलाडीले कोभिड १९ महामारीका लागि लागु गरिएको क्वारेन्टाइनको नियम पालना नगरेको भन्दै उनीहरु मैदान प्रवेश गरेका थिए । जसका कारण खेल स्थगित भएको थियो ।

फिफाले दुवै राष्ट्रमाथि जरिवाना भराउने र सो खेल पुनः खेल्नु पर्ने निर्णय गरेको थियो । जुन निर्णयविरुद्ध ब्राजिल र अर्जेन्टिना कोर्ट फर अब्रिट्रियसन अफ स्पोटर्स (सिएएस) मा पुगेका थिए । सिएएसले यसै महिनाको अन्त्यमा यो विषयमा अन्तिम निर्णय दिने र सो आदेश फिफाको निर्णय अनुसारकै हुने सम्भावना उच्च रहेको बताइएको छ ।

फिफाले पुनः खेलाउने खेलको मिति तोकेको छैन तर सो खेल सेप्टेम्बरमा हुने सम्भावना रहेको छ ।

ब्राजिल फुटबल संघ (सिबीएफ) का अध्यक्ष इडनाल्डो रोर्डिग्वेजले आफूहरु विश्वकप सुरु हुनुभन्दा दुई महिना अघि विश्वकप छनोटको खेल खेल्न इच्छुक नरहेको बताए । उनले खेलाडीको चोट र कार्डका कारण खेलाडीको निलम्बनको डर भएकाले सो खेल खेल्न नचाहेको बताए ।