इटालियन सिरी ए

योजना अनुसार बिदाई भएनःमार्टिन्स

मिलान । द्रिइस मार्टिन्सले नेपोलीका समर्थकलाई सन्देश दिँदै आफ्नो योजना अनुसार क्लबबाट बिदाई नभएको बताएका छन् ।

इटालियन सिरी ‘ए’ को  क्लब नेपोलीमा नौ वर्ष बिताएका मार्टिन्सले नयाँ सिजनका लागि क्लबले राखेको नयाँ सम्झौताको प्रस्ताव अस्विकार गरेका थिए ।

गत महिना नेपोलीका मालिक औरेलियो डी लाउरेन्टिसले आफूहरुको नयाँ सम्झौता प्रस्ताव मार्टिन्सले अस्विकार गरेको र उनले महंगो रकम मागेको दाबी गरेका थिए ।

‘नेपोलीका प्यारा समर्थकहरु,मलाई यो दिन आउछ भन्ने थाहा थियो । तर समर्थकबाट टाढा हुन कठिन हुन्छ भन्ने थाहा थिएन,’सामाजिक संजालमा मार्टिन्सले नेपोलीका समर्थकलाई सम्बोधन गर्दैै पोस्ट गरेका छन्, ‘मलाई माया गर्नु भएकोमा धन्यवाद । मैले जुन योजना बनाएको थिए,त्यो अनुसार बिदाई भने भएन ।’

मार्टिन्सले नेपोलीबाट कीर्तिमानी एक सय ४८ गोल गरेका थिए । गत सिजन भने उनले सिरी ‘ए’ को ३० खेलमा ११ गोल गरेका थिए । 
मार्टिन्सको अनुबन्धमा युभेन्टस, इन्टर मिलान र मार्सेलीले इच्छा देखाउँदै आएका छन् ।