इटालियन सिरी ए

इन्टर स्वभाविक लयमै छः इन्जाघी

मिलान । मैत्रीपूर्ण खेलमा लेन्ससँग १-० ले पराजित भए पनि इन्टर मिलानका प्रशिक्षक सिमोनी इन्जाघीले आफ्नो टोलीले स्वभाविक लय गुमाइनसकेको प्रतिक्रिया दिएका छन् ।

इन्टर मिलानले गत सिजन सिरी ‘ए’ को उपाधि रक्षा गर्न सकेको थिएन । इन्टरलाई पछि पार्दै एसी मिलानले ११ वर्षपछि सिरी ‘ए’को उपाधि जितेको थियो । लेन्स भने गत सिजन फ्रेन्च लिग वानमा सातौं स्थानमा रहेको थियो ।

इन्टरले दोस्रो हाफमा रोमेलु लुकाकु र हेनरिक मिखितारियानलाई मैदानमा उतारेको थियो । तर उनीहरुको उपस्थितीमा पनि इन्टरले जित भने निकाल्न सकेन । 

‘यो अभ्यास खेल हो । टोलीको तयारी कस्तो भैरहेको छ भन्ने थाहा पायौ,’ इन्जाघीले भने, ‘आजको खेल कठिन हुन्छ भन्ने थाहा थियो । हामीले सुधारिएको प्रदर्शन गर्न आवश्यक छ ।’

इन्टरले यसअघि एफसी लुगानोलाई ४-१ ले हराएको थियो भने मोानकोसँग २-२को बराबरी खेलेको थियो । 

‘हामीले लय गुमाइसकेका भने छैनौ’,उनले भने, ‘हामीसँग सिजन सुरु हुन अझै तीन साताको समय बाँकी छ ।’ 

इन्टरले प्रि-सिजनअन्तर्गतको अन्य मैत्रीपूर्ण खेलमा लियोन र भियारियालको सामना गर्नेछ ।  अगस्ट १३ मा लिसविरुद्धको खेलसँगै सिरी ए को नयाँ सिजनको सुरुआत गर्नेछ ।