जिरौड प्रेरित मिलानको प्रभावाशली जित

मिलान, (खेलाडी)- ओलिभर जिरौडले एसी मिलानका लागि आइतबार राति पहिलो पटक दुई गोल गर्दा टोलीले नयाँ सिजनमा सतप्रतिसत नतिजा यात्रालाई निरन्तरता दिएको छ । 

जिरौडका दुई गोल प्रेरित मिलानले गए राति घरेलु सान सिएरोको मैदानमा काग्लियारीमाथि ४-१ को प्रभावशाली जित हासिल गरेको थियो । 

गत साता साम्पडोरियामाथि १-० को जित हासिल गरेको खेलमा मिलानले निक्कै संघर्ष गर्नुपरेको थियो । तर आइतबार काग्लियारीमाथि टोली निक्कै हावी भयो । मिलानले आइतबार सबै चार गोल पहिलो हाफमै गरिसकेको थियो । 

सान्ड्रो टोनालीले १२औं मिनेटमा गोल गर्दै मिलानलाई दिलाएको अग्रता एलेसान्डो डियोलाले १५औं मिनेटमा बराबरीमा ल्याएका थिए । डियोलाले गरेको गोल मिलानविरुद्ध खेलेका छैटौं लिग खेलमा काग्लियारीका खेलाडीले गरेको पहिलो गोल थियो । 

राफेल लियाओले १७औं मिनेटमा गोल गर्दै घरेलु टोली मिलानको अग्रता पुनस्थापित गरे । त्यसपछि जिरौडले लगातार दुई गोल गर्दै टोलीको जित अन्तर फराकिलो पारे । 

जिरौडले ब्राहिम डियाजको पासलाई गोलमा परिणत गर्दै २४औं मिनेटमा गोलको व्यक्तिगत खाता खोलेका थिए । उनले दोस्रो गोल मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीमा गरेका थिए । 

इटालियन सिरी ‘ए’मा दुई चरणको खेल सकिँदा मिलानसँगै लाजियो, साविक विजेता इन्टर मिलान, एएस रोमा र नेपोली पनि सतप्रतिसत नतिजाका साथ समान ६ अंक लिएर अंकतालिकामा अगाडि छन् ।