गारेथ बेल

बेलको साउथह्याम्टनदेखि लस एन्जलस यात्रा

लन्डन । वेल्सका फरवार्ड गारेथ बेलले रियाल मड्रिड छोडेर मेजर लिग सकर (एमएलएस)को क्लब लस एन्जलसमा एक वर्षका लागि अनुबन्ध भएका छन् ।

सन् २०२२ मा कतारमा हुने विश्वकपको लागि फिटनेस कायम गर्नका लागि बेल लस एन्जल्समा अनुबन्ध भए ।

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट गराएका कप्तान बेल युरोपेली फुटबलमा लामो सयम बिताएर अमेरिका जाने भएका हुन् । वेल्स प्लेअफमा युक्रेनलाई हराउँदै विश्वकपमा छनोट भएको थियो । वेल्सले विश्वकपअन्तर्गत नोभेम्बर २१ मा युएसएविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

लस एन्जल्ससँग सम्झौता गरेपछि ३२ वर्षीय बेलले ‘सि यु सुन लस एन्जल्स,’ भनेर ट्वीट गरेका छन् ।

एमएलएसको यो सिजन अक्टुबर ९ बाट सकिँदैछ । एलएएफसी वेस्टर्न कन्फ्रेन्समा ३० अंक सहित शीर्ष स्थानमा छ ।

सन् २००६–०७ सम्म साउथह्याम्टनबाट व्यावसायिक फुटबलको सुरुआत गरेका  बेल २००७–१३ सम्म टोटनहममा अनुबन्ध भएका थिए । त्यतिबेला उच्च लयमा रहेका बेल सन् २०१३ मा कीर्तिमानी मूल्य ८५ मिलियनमा युरोमा टोटनहमबाट रियाल मड्रिड पुगेका थिए ।

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट गराएका कप्तान बेल युरोपेली फुटबलमा लामो सयम बिताएर अमेरिका जाने भएका हुन् । वेल्स प्लेअफमा युक्रेनलाई हराउँदै विश्वकपमा छनोट भएको थियो । वेल्सले विश्वकपअन्तर्गत नोभेम्बर २१ मा युएसएविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

स्पेनिस क्लबमा फुटबल जीवनको ९ वर्ष बिताएका बेलले त्यसबीच सन् २०२०–२१ मा पूर्व क्लब टोटनहममा लोनमा गएका थिए ।

त्यसबेला उनले टोटनहमबाट इङ्लिस प्रिमियर लिगमा ११ गोल गरे । त्यो सिजनको समाप्तिपछि बेल पुनः मड्रिडमा नै फर्किए । बेलले पेरिसमा भएको च्याम्पियन्स लिगको फाइनल खेल्ने इच्छा देखाए पनि प्रशिक्षक कार्लाे एन्सेलोट्टीले उनलाई बेन्चमा मात्रै राखे ।

बेलले मड्रिडबाट तीन ला लिगा र पाँच च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै, मड्रिडमा हुँदा उनले तीन पटक युइएफए सुपर कप, तीन पटक फिफा क्लब विश्व कप, कोपा डेल रे र स्पानिस सुपर लिगको उपाधि पनि जितेका थिए ।

बेलले मड्रिडबाट दुई सय ५८ खेल खेलेका छन् । जसमा उनले एक सय ६ गोल र ६७ पटक गोलका लागि असिस्ट गरेका छन् ।

मड्रिडका मुख्य खेलाडी बनेका बेलले पहिलो सिजन नै च्याम्पियन्स लिग र कोपा डेल रेको फाइनलमा गोल गरेका थिए ।

बेलले सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलविरुद्ध दुई गोल गरे । जसमध्ये उनले एक गोल हेडरमार्फत गरेका थिए । तर, त्यतिबेला चोटको सम्स्या बढेपछि मुख्य प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध चिसिएको थियो ।

यसैबीच सन् २०१९ मा बेल चाइनिज सुपर लिगको क्लब जियान्सु सनिङमा अनुबन्ध हुने चर्चा चलेको थियो । तर, मड्रिडले उनलाई बेच्न नचाहेपछि त्यो हल्लामै सीमित भएको थियो ।

मड्रिडबाट आफ्नो ९ वर्षे बसाइलाई टुङ्ग्याएका बेलसँगै इस्कोले पनि क्लब छोड्ने पुष्टि गरिसकेको छ ।