युनियन बर्लिनको पहिलो जित

बर्लिन, (खेलाडी)- युनियन बर्लिनले जर्मन बुन्डेसलिगाको नयाँ सिजनमा पहिलो जित हासिल गर्ने क्रममा आइतबार राति बोरुसिया मोन्चेनग्लाडबाचमाथि २-१ को नतिजा निकालेको छ । 

निको गिसलम्यानको गोलबाट २२औं मिनेटमा अग्रता लिएको बर्लिन पहिलो हाफ हुन चार मिनेट बाँकी रहँदा अग्रता दोब्बर पार्न सफल भएको थियो । टोलीका लागि ४१औं मिनेटमा ताइवो ओनियीले दोस्रो गोल गरेका थिए । 

पहिलो हाफमै दुई गोलले पछि परेको मोन्चेनग्लाडबाचले दोस्रो हाफको ४५ मिनेटमा पनि केही जादु गर्न सकेन । इन्जुरी समयमा जोनस हफम्यानले गरेको एक गोल टोलीका लागि सान्त्वनामा सिमित भयो । 

आइतबारको नतिजापछि तीन खेलको समाप्तीमा बर्लिन पाँच अंकका साथ आठौं स्थानमा रहँदा एक अंकमै सिमित मोन्चेनग्लाडबाच १५औं स्थानमा छ ।