लिभरपुल

‘जोटा, अब तिम्रो पालो’

मर्सेसाइड । सडियो माने गए, डार्विन नुनेज एन्फिल्डमा आइपुगेका छन् । तर, सबैभन्दा फाइदा यसबाट पोर्चुगिज खेलाडी डिएगो जोटालाई हुनेछ ।

लिभरपुलमा एउटा ‘एरा’ सकिएको छ भने नयाँ सुरु हुँदैछ ।

माने मर्सेसाइडमा उपाधिले भरिएका ६ वर्ष बिताएर जर्मनीतिर लागेसँगै लिभरपुलको चर्चित ‘फ्रन्ट थ्री’ बाँकी रहेन ।

‘यो महत्त्वपूर्ण समय हो,’ माने बायर्न म्युनिखमा अनुबन्ध भएसँगै क्लबका प्रशिक्षक यर्गेन क्लोपले बुधबार भनेका थिए, ‘विश्वका उत्कृष्ट खेलाडीमध्ये एक... एक लिजेन्ड, निश्चितरुपमा... एक आधुनिक युगका लिभरपुल आइकन ।’

उनलाई प्रतिस्थापन गर्न गाह्रो छ, कम्तिमा भन्न सकिन्छ । लिभरपुलले यसअघि पनि राम्रा खेलाडीहरु गुमाएको छ । तर, सन् २०१४ मा लुइस स्वारेजपछि क्लबका लागि एकदमै प्रभावशाली खेलाडी भने गुमाएको थिएन ।

लामो समयदेखि क्लोपले मानेको निरन्तर प्रभावशाली खेल पस्कन सक्ने क्षमताको वर्णन गर्न पाए । क्लोप लिभरपुलको विनाशकारी ‘फ्रन्ट थ्री’मा पूर्णरुपमा निर्भर हुन सक्थे । माने, मोहम्मद सालाह र रोबर्टो फिर्मिन्होको तालमेलमा बनेको सशक्त आक्रामक ‘फ्रन्ट थ्री’ले पछिल्ला पाँच सिजमा ३३८ गोल सिर्जना गर्यो । ती मध्ये ६५ गोल पछिल्लो सिजनमा मात्रै भएका थिए ।

तर, अबको प्रश्न क्लोप फेरि लिभरपुलमा फेरि त्यस्तै आक्रामक टिम तयार गर्न सक्छन् ? पछिल्ला वर्षहरुमा स्थापित लिभरपुलले जुन स्तरमा आफूलाई स्थापित गरेको छ, त्यसलाई कायम राख्न सक्छन् ?

यस्तै शंका–उपशंका पैदा भइरहेका छन् । तर, त्यसका लागि प्रक्रिया भने सुरु भइसकेको छ । मानेको क्षमताको कमी महसुस पक्कै हुनेछ, तर उनको बहिर्गमनपछि पनि लिभरपुलमा धेरै पछाडी छुटेको छैन । नयाँ सिजनका लागि फरवार्डको हकमा खेलाडी एनफिल्ड आइसकेका छन् । लिभरपुलले गत जनवरीमै लुइस डियाजलाई भित्र्याइसेको छ ।

यसअघि नै फुल्हमबाट अनुबन्ध भइसकेका १९ वर्षीय फ्याबियो कार्भाल्हो जुलाई १ देखि आधिकारिक लिभरपुलका खेलाडी हुनेछन् ।

उनी प्रि–सिजनका लागि नुनेजसँगै तयार हुनेछन् । नुनेजलाई यसै महिना पोर्चुगिज क्लब बेन्फिाकाबाट ८५ मिलियन पाउन्डमा लिभरपुलले अनुबन्ध गरिसकेको छ ।

डियाज र नुनेजलाई विशेष गरी मानेको प्रतिस्थापनको रुपमा हेरिनेछ । तर, त्यहाँ अर्का एक फरवार्ड छन्, जसले सेनेगलका स्टार बहिर्गमनको सबैभन्दा धेरै फाइदा उठाउने छन् । मानेको बहिर्गमनसँगै क्लोपले गर्ने रणनीतिक परिवर्तनको फाइदा पनि तीनै जोटालाई हुनेछ ।

डिएगो जोटा

पछिल्लो सिजन जोटाका लागि प्रभावशाली रहेन । सिजनका पछिल्ला १३ खेलमा गोल गर्न नसकेका जोटा एफए कप र च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउनबाट असफल रहे ।

अन्य कुनै खेलाडीभन्दा पोर्चुगिज फरवार्डं जोटा सिजनको बीचमा भएको डियाजको आगमनबाट प्रभावित भएका थिए । कोलम्बियन फरवार्ड डियाजले तीव्र दौडले मैदान तताइरहँदा मानेले नम्बर–९ पोजिसनमा आफूलाई स्थापित गरेसँगै जोटाको महत्त्व सिजन समापन हुँदासम्म घट्दै गयो ।

यसका बाबजुद पनि जोटाले गत सिजन २१ गोल गरे । जुन फिरमिन्होको भन्दा १० धेरै हो भने मानेको भन्दा दुई गोल मात्रै कम हो  । जोटाले म्यानचेस्टर युनाइटेड, एभर्टन, टोटनहम, आर्सनल र म्यानचेस्टर सिटीविरुद्ध अवे गोल गरेका थिए ।

उनको ‘अल–राउन्ड’ प्रदर्शनमा अझै सुधार आवश्यक देखिन्छ । उनको ‘फर्स्ट टच’ सालाह डियाज र फिर्मिन्होको तुलनामा कमजोर देखिन्छ । तर जोटाको ‘भर्सटाइल’ प्रदर्शन, गोल गर्ने क्षमताले लिभरपुलको पोस्ट–माने ‘एरा’मा नयाँ तरङ्ग पैदा गर्नेछ । अझै क्लोपले ४–२–३–१, वा ४–४–२ रणनीति अपनाए भने जोटाले अझै प्रभावशाली प्रदर्शन गर्न सक्छन् ।

क्लोपसँग त्यसका लागि सालाह, डियाज, जोटा, नुनेज र कार्भाल्हो गरी पाँच सशक्त विकल्प हुनेछन् । सबै खेलाडी दुवै विङ्गमा र सेन्टर फरवार्डको भूमिका अब्बल छन् । फिरमिन्होको सुरुआती ११ मा स्थान बनाउने समय गइसकेको देखिन्छ । तर, ब्राजिलियन फरवार्डको निस्वार्थता र तीक्ष्ण क्षमताका काराण क्लोपका लागि उनी मूल्यवान् सम्पत्ति हुन् । नम्बर–९ वा नम्बर–१० दुवै स्थानमा उत्कृष्ट फिरमिन्होका लागि यो बिदाई सिजन पनि हुनसक्छ ।

डिएगो जोटा

लिभरपुलमा जोटाको उत्कृष्ट खेल फिरमिन्होको स्थानमा सेन्टर फरवार्डको भूमिका देखिएको थियो । तर, उनी वुल्भ्समा हुँदा राहुल हिमिनेजपछि दोस्रो फरवार्डका रुपमा पनि अझ प्रभावशाली देखिन्थे । त्यसैले आगामी सिजन नुनेजसँग पनि जोटाको त्यस्तै तालेमल देखिने सम्भावना छ ।

आगामी सिजन लिभरपुलको खेल्ने शैलीमा धेरै परिवर्तनको आशा गर्न सकिँदैन । क्लोपले पछिल्लो समय लिभरपुलमा बलमा प्रभुत्व जमाउने र ‘वाइड एरिया’बाट अत्यधिक आक्रामण गर्ने शैली स्थापित गरेका छन् ।

आगामी सिजन पनि दुई फुल ब्याकहरु ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड र एन्डी रोबर्टसन एकदमै महत्त्वपूर्ण रहने छन् । दुवै फुल ब्याक ‘हाइ डिभेन्सिभ लाइन’मा हुनेछन् । भर्जिल भान डाइक नेतृत्वको रक्षापंक्तिले उनीहरुलाई विपक्षीको हाफमै धेरै समय बिताउने मौका दिन्छ ।

यद्यपि, क्लोपसँग अनपेक्षित रुपमा शैली परिवर्तन गर्नसक्ने विकल्प छ । निश्चितरुपमा सालाहले प्रायः सुरुआती ११ मा स्थान बनाउने छन् । तर, पछिल्ला सिजनहरुमा नदेखिएको पहिलो रोजाइमा धेरै परिवर्तन र विपक्षी टिमअनुसार खेलाडीको प्रयोग पनि क्लोपबाट देखिन सक्छ ।

यसको केही संकेत पछिल्लो सिजन पनि देखिएको थियो, जब २१  खेलाडीले २० वा त्योभन्दा धेरै खेल खेलका थिए । लिभरपुलले चुपचाप त्यस्तो टिम तयार गरेको छ, जसले चाहिएको बेला जसले पनि योगदान गर्न सक्छ । र, त्यसलाई मानेको बहिर्गमन र कम प्रभावशाली देखिएका ताकुमी मिनामिनो र डिभोक ओरिगीको अनुपस्थितिले खासै प्रभाव पार्दैन ।

सबैको ध्यान, स्वााविकरुपमै नुनेजमाथि हुनेछ । जसको कारण उनलाई भित्र्याउन लिभरपुलले खर्चिएको मुल्य हो । यसबाहेक डियाज आफूलाई अझै चम्किलो नक्षत्रको रुपमा लिभरपुलमा कायम गरिरहन सक्छन् ? भन्ने पनि चासोको विषय हुनेछ ।

डार्विन नुनेज

यस्तै, कार्भाल्होलाई पनि लिभरपुलमा घुलमिल हुन धेरै समय नलाग्ने क्लबको विश्वास छ । प्रायः फरवार्ड वा नम्बर–१० पोजिसनमा देखिने कार्भाल्हो फिरमिन्होको ‘लिगेसी’ थाम्न तयार हुने विश्वासल क्बललाई छ । यदि उनले फिरमिन्होको स्थान लिन सके भने ब्राजिलियन फरवार्डका लागि यो बिदाई सिजन हुने निश्चित छ ।

जोटाको हकमा, उनको उत्कृष्ट लय लिभरपुलका लागि कति महत्त्वपूर्ण छ भन्ने क्लोपले बुझेका छन् । ‘एक प्रेसिङ मोनस्टर’ क्लोपका सहायक प्रशिक्षक पेप लाइन्डर्स भन्छन् ।

‘एक विश्व स्तरीय फिनिसर’ क्लोपले जोटाको बारेमा भनेका थिए । गत सिजन केही फिका देखिएका जोटा फेरि एक पटक चम्किनेमा क्लोप आशावादी छन् । मानेको बहिर्गमन, नुनेजको आगमनले जोटालाई चम्किन अझै सहयोग गर्नेछ ।