बेन्फिका

नेरेस बेन्फिकामा

लिस्वन । लिभरपुललाई डार्विन नुनेज बेचेपछि बेन्फिकाले आफ्नो टिमलाई बलियो बनाउनका लागि ब्राजिलियन विङ्गर डेविड नेरेसलाई अनुबन्ध गरेको छ ।

नेरेसले१५.३ मिलियन डलरमा बेन्फिकासँग पाँच वर्षको सम्झौता गरेका हुन् ।

आयाक्समा पाँच वर्ष बिताएका नेरेसले सबैखाले प्रतियोगिता गरेर एक सय ८० खेलमा ४७ गोल गर्नुका साथै ३४ गोलका लागिे असिस्ट गरेका छन् । सन् २०१८–१९ सिजनमा उनले एरिक टेन हागको नेतृत्वमा च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनी आयाक्सबाट सन् २०२२ जनवरीमा युक्रेनी क्लब सख्तरमा अनुबन्ध भएका थिए । तर, रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि नेरेसले सख्तरबाट कुनै आधिकारिक खेल खेल्न पाएनन् ।

उनले बेन्फिकाबाट नियमित रुपमा खेल्न उत्साहित भएको बेन्फिकाको आधिकारिक पेजमार्फत बताए ।

‘सबैले पोर्चुगिज भाषा बोल्ने देशमा आउँदा राम्रो लागेको छ । बेन्फिकासँग सम्झौत गर्न पाउँदा खुशी छु । बेन्फिका युरोप र विश्वको ठूलो क्लब हो,’ उनले भने, ‘ बेन्फिका बलियो टिम हो, यो कुरा सबैलाई थाहा छ । बेन्फिकाबाट खेल्ने मौका पाउँदा धेरै खुशी छु ।’