एन्फा निर्वाचन

एन्फा निर्वाचनः बन्द सत्र सकियो, एक घण्टापछि मतदान

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी बन्द सत्र सकिएको छ ।

बन्द सत्र सकिँएसँगै अहिले लन्च ब्रेक चलिरहेको छ । यसपछि एन्फाको आगामी चार वर्षे कार्यकालको लागि नयाँ कार्यसमितिका लागि चुनाव हुनेछ । चुनाव अबको एक घण्टापछि सुरु हुनेछ ।

एन्फाको आगामी चार वर्षे कार्यसमितिको अध्यक्षताका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षका लागि चुनावी मैदानमा छन् । दुवै अध्यक्षका आकांक्षी सदस्यसम्म आफ्नो प्यानल नै लिएर चुनावी मैदानमा होमिएका छन् । उनीहरु दुई जनालाई राजिव पौड्यालले चुनौती प्रस्तुत गर्दैछन् ।

शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली र नेम्वाङ प्यानलबाट वीर बहादुर खड्काले उम्मेदवारी दिएका छन् । 

एन्फाको विधानअनुसार निर्वाचनमा खस्ने कुल मत ८७ हो । एन्फासँग सम्बन्धित ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाउँछन् । गण्डकी प्रदेशका ८ मध्ये ६ र प्रदेश नम्बर १ बाट ११ मध्ये १० जिल्ला केन्द्रीय निर्वाचनमा मताधिकारका लागि चुनिन्छन् । यसपाली गण्डकीबाट गोरखा र कास्की तथा प्रदेश नम्बर १ बाट संखुवासभा प्रदेशको निर्वाचनमा पराजित भएर मताधिकारबाट वञ्चित छन् ।

यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४, ‘बी’ डिभिजन लिगका १४ मध्ये ११ र ‘सी’ डिभिजन लिगका १४ मध्ये ९ क्लबले मताधिकार पाइसकेका छन् । त्यसबाहेक राष्ट्रिय लिगका लागि छनोट भएर खेल्नका लागि दुई वर्षदेखि प्रतिक्षारत चार वटा क्लबसँगै एन्फामा आवद्ध चार वटा संघले मताधिकार पाउँछन् । रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघले एक–एक भोट सुनिश्चित गरिसकेका छन् ।

सबै गरेर एन्फाको केन्द्रीय निर्वाचनमा खस्ने कुल मत ८७ पुग्छ ।

तर, आज हुने एन्फा निर्वाचनमा ८४ भोट मात्रै खस्ने भएको छ । दुई वटा जिल्ला भक्तपुर र सिन्धुलीमा चुनाव हुन नसक्दा मताधिकारबाट वञ्चित भएका छन् । यस्तै, सिरहा जिल्लाबाट मताधिकार पाएका एन्फा कार्यसमिति सदस्य प्रविणकुमार यादवले समयसिमाभित्र कार्यसमितिबाट राजीनामा नदिएका कारण उनी मतदानमा सहभागी हुन पाउने छैनन् ।

यसअघि निर्वाचन समितिले सरस्वती क्लब, महिला संघ, सिरहा र फ्रेन्ड्स क्लबको मताधिकार खोसेको थियो । तर, अपील कमिटिले सिरहाबाहेक अन्य मतदानमा सहभागी हुन पाउने निर्णय गरेको थियो ।