एन्फा चुनाव

सिंहदरबारमा खेल सामान्य गतिविधि हो भन्ने बुझाई छ: मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सिंहदरबार भित्र खेलकुदलाई सामान्य गतिविधिको रुपमा मात्रै लिइने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गहतराजले देशको प्रमुख प्रशासनीक निकायको प्राथमिकतमा खेलकुद नपर्ने जिकिर गरे ।

‘खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ छ,’ मन्त्री गहतराजले भने, ‘सिहंदराबर भित्र त्यही बुझाई छ, तर खेललाई चार÷पाँच हिसाबले बुझ्नुपर्छ ।’

खेलकुद उद्यम भएको बताउँदै मन्त्री गहतराजले भने, ‘हामीले त्यो बुझाउनु पर्ने आवश्यकता पनि छ । ठूला देशले अन्तर्राष्ट्रिय स्तरमा लबिङ गरिरहेका छन् । हाम्रो देश जनु प्राकृतिक रुपमा सुन्दर छ । हामीले खेललाई पर्यटनसँग जोड्नुपर्छ । हाम्रोजस्तो सानो देशले अन्तर्राष्ट्रिय सम्बन्ध सँग जोड्नुपर्छ । जसलाई स्पोट्स डिप्लोमेसीका रुपमा पनि बुझ्नुपर्छ ।’

सोमबार नै हुने एन्फाको चुनावबारे बोल्दै उनले आजको नतिजाले नेपाल फुटबललाई नयाँ स्थानमा पुर्याउने आशा व्यक्त गरे ।

‘आजको नतिजाले नेपालको फुटबललाई नयाँ ठाउँमा पुर्याउन सकोस् । यसलाई देशव्यापी बनाउन सकियोस् । यो ऐतिहासिक दायित्व पुरा गरेपछि । त्यसलाई पनि विगतको कामको समीक्षा गरेर नयाँ कार्य दिशा दिनुपर्छ,’ उनले भने, ‘लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व छनोट गर्नुहुनेछ । सबैले आआफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । मलाई लाग्छ यी दुई काम गरिसकेपछि साधारण सभाको ऐतिहासिक दायित्व पूरा हुन्छ । कार्ययोजनालाई निरन्तर फलो गर्ने । र कार्ययोजना कार्यान्वनको सन्दर्भमा सबै प्रतिनिधिले झक्–झक्याउनु पर्ने हुन्छ ।’

अहिले एन्फामा खेलाडी प्रशिक्षक विवाद भइरहेको र त्यसमा सरकारी निकायले हस्तक्षेप गर्नु नमिल्ने बताए । ‘हामीले त्यो विषयमा सिधा हस्तक्षेप गर्नु हुँदैन । एएफसी र फिफाको नियमका कारण हामीले हस्तक्षेप गर्न मिल्दैन,’ उनले भने ।