एन्फा चुनाव

बाहिरियो एन्फाको अर्को काण्ड

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनको मुखैमा नेपाली फुटबलको छवि धमिल्याउने काण्डहरु सार्वजनिक हुने क्रममा आइतबार नेतृत्वमाथि विदेशी मुद्रा अपचलन तथा ‘कागजपत्र किर्ते’को आरोप लागेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा ‘आलु भाइ’ नामको अकाउन्टबाट एक व्यक्तिले फिफा विश्वकप २०२२ को छनोटअन्तर्गतको अवे खेल खेल्नका लागि तीन वर्षअघि राष्ट्रिय टोली अस्ट्रेलिया पुग्दा विदेशी मुद्रा अपचलन भएको पत्र सार्वजनिक गरेका छन् ।

टिम अस्ट्रेलिया लैजाने क्रममा व्यवस्थापक मधुसुदन उपाध्यायले एन्फाबाट १० लाख ९५ हजार एक सय १४ रुपैयाँ पेश्की निकाले पनि राष्ट्र बैंकको अनुमति लिएर मात्र विदेशी मुद्रा सटही गर्नुपर्ने बाध्यकारी कानुन नमानेको आरोप छ ।

टिम नेपाल फर्किइसकेपछि एन्फामा असन्तुष्ट पक्षले विदेशी मुद्रा अपचलन भएको आवाज उठाएपछि उपाध्यायले अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरसँग मिलेर पेश्की माग गरिएको निवेदन फेरिदिएको आरोप लगाइएको छ ।

सामाजिक सञ्जालमा उपाध्यायले एन्फा अध्यक्षलाई सम्बोधन गरेर लेखेका दुवै पत्र सार्वजनिक भइसकेका छन् । एउटा पत्रमा उपाध्यायले क्यानबेरामा होटल खर्च लागि १२ हजार ३ सय २२, २०१९ अक्टोबर ११ को बिहानको खानाका लागि ६ सय, टिम मिटिङका लागि हल चार्ज २ सय र भैपरी खर्चका लागि सात सय गरि कुल १३ हजार ८ सय २२ अस्ट्रेलियन डलरको तत्कालिन विनिमय दर (नेपाली रु. ७७)अनुसार १० लाख ६४ हजार दुई सय ९४ रुपैयाँ माग गरेका छन् । जसमा एन्फा अध्यक्ष शेर्पाले ‘श्री महासचिव नियमानुसार नगद निकास गर्ने’ भनेर तोक लगाएका छन् ।

सार्वजनिक भएको अर्को पत्रमा उपाध्यायले केही बेहोरा थप गरेका छन् । ‘क्यानबेराको टिम होटलको भुक्तानी गर्नुपर्ने रकम नगदबाट भुक्तानी गर्न नमिल्ने जानकारी प्राप्त भएकोले अस्ट्रेलियन नेपाल फुटबल संघका अध्यक्ष बिजेन बाटाजुले आफ्नो कार्डबाट तिर्ने र त्योबराबरको नेपाली रकम बाटाजुलाई दिने गरी भुक्तानी हुने ब्यहोरा समेत जानकारी गराउँछु,’ दोस्रो पत्रमा थप गरिएको छ ।

दोस्रो पत्रमा अध्यक्ष शेर्पाले ‘श्री महासचिव निवेदकले उल्लेख गरेबमोजिम मिलाउने’ भनेर तोक लगाउँदा पनि अघिल्लो भन्दा फरक बेहोरा लेखेका छन् । दुवै पत्र उपाध्यायले २०७६ साल असोज ६ गतेको मितिमा लेखेका छन् ।

संस्थाको पत्र आफूअनुकुल परिवर्तन गर्नु तथा राष्ट्र बैंकको अनुमतिविना विदेशी मुद्राको चलन गर्नु दण्डनीय अपराध भएको कानुनविदहरु बताउँछन् ।

‘राष्ट्र बैंकको अनुमति विना विदेशी मुद्रा सटही गर्न र विदेश लान पाइन्न । यस्तो कार्य भनेको कानुनको उल्लंघन गर्नु हो । कानुन उल्लंघन गर्ने छुट कसैलाई हुँदैन,’ कानुनविद बाबुराम अर्याल भन्छन्, ‘दुई वटा पत्र बनाएको विषयमा पनि त्यो जालसाजी गरेको देखिन्छ । अगाडिको कुरालाई ढाकछोप गर्नु भनेको प्रमाण नष्ट गर्न खोज्नु हो । त्यो पनि कानुन सम्मत भएन ।’

एन्फाका महासचिव इन्द्रमान तुलाधर पछिल्लो चार वर्षमा आफूहरुले कुनै गलत काम नगरेको दाबी गरे । भने, ‘यो सब कुरा चुनावी फण्डामात्र हो । हामीले कुनै पनि काम नियम मिचेर गरेको छैन । सबै नियमअनुसार गरेको छ । दुईवटा चिठी बनाएको विषयमा मलाई केही थाहा छैन ।’

दुई दिनअघि पनि एन्फाले विदेशी कम्पनीसँग गरेको सट्टेबाजी सम्बन्धित सम्झौता बाहिरिएको थियो ।