किलियन एमबाप्पे

एमबाप्पे फ्रान्सको राष्ट्रिय टिमबाट खेल्न नचाहेको खुलासा

पेरिस । फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) का अध्यक्ष नोइल ले ग्रेइटले युवा स्टार किलियन एमबाप्पे राष्ट्रिय टिमबाट खेल्न नचाहेको खुलाएका छन् ।

ग्रेइटले सन् २०२० को युरोपियन च्याम्पियनसिपअन्तर्गत अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेपछि भएको आलोचनाबाट निराश एमबाप्पेले राष्ट्रिय टिमबाट खेल्न नचाहेको बताएका हुन् ।

२३ वर्षको उमेरमै विश्वकपको उपाधि जितिसकेका एमबाप्पे फ्रान्सको टिममा अनुपलब्ध हुन सक्ने ग्रेइटले बताए ।

‘स्विट्जरल्यान्डसँगको पेनाल्टीमा गोल गर्न असफल भएपछि मैले एमबाप्पेलाई भेटेको थिए । एमबाप्पेले पेनाल्टी चुकाएपछि फ्रान्स फुटबलले उनको रक्षामा नउत्रिएको महसुस गरेका थिए,’ अध्यक्ष ग्रेइटले भने, ‘हामीले पाँच मिनेट कुराकानी गरेका थियौं । त्यसबेला उनी निकै आक्रोसित र निराश थिए । उनले फ्रान्सको राष्ट्रिय टिमबाट खेल्ने चाहना नरहेको समेत बताएका थिए ।’

फ्रान्सबाट ५७ खेल खेलेका एमबाप्पेले २७ गोल गरेका छन् । एमबाप्पेले यसअघि पनि फ्रान्सको टिमका लागि आफू एक समस्या भए यसबाट टाढिन तयार रहेको बताएका थिए ।