कार्लोस टेभेज

प्रशिक्षकको भुमिकामा टेभेज !

ब्युनस आयर्स । पूर्व अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेज प्रशिक्षकको भुमिकामा आउने भएका छन् । अर्जेन्टिनी क्लब रोसारियो सेन्ट्रलका उपाध्यक्षले हालैमात्र फुटबलबाट सन्यास लिएका टेभेजलाई मुख्य प्रशिक्षकको रुपमा भित्र्याउने लक्ष्य बनाएसँगै उनले अर्को हप्ताबाट क्लबको जिम्मेवारी सम्हाले देखिएको छ ।

म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र युभेन्टस्का पूर्व फरवार्ड टेभेजले पछिल्लो महिना ३८ वर्षको उमेरमा फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । उनले बुबाको मृत्युको कारण देखाउँदै सन्यासको घोषणा गरेका थिए ।

आफ्नो करियरमा २६ उपाधि जितेका टेभेज कन्मेबोलको लिबरटाडोरेस र युरोपियन च्याम्पियन्स लिग जित्ने एकमात्र दक्षिण अमेरिकी खेलाडी हुन् । उनले सन् २००८ मा युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

टेभेजले बोका जुनियर्सबाट व्यवसायिक करियरको अन्तिम खेल खेलेका थिए । तर, चार पटक अर्जेन्टिनाको शीर्ष डिभिजन लिग जितेको रोसारियो सेन्ट्रलले टेभेजलाई प्रशिक्षकको जिम्मेवारी दिने मनसाय सार्वजनिक गरेसँगै उनी फरक भुमिकामा देखिने सम्भावना बढेको हो ।

‘क्लब बोर्डले टेभेजलाई प्रशिक्षकको जिम्मेवारी दिने प्रस्ताव स्वीकार गरेको छ । र, अब हामी उनीसँग वार्ताको प्रकृया अघि बढाउने चरणमा पुगेका छौं,’ क्लबका उपाध्याक्ष रिकार्डो कार्लोनीले भने, ‘हामी यो हप्ता टेभेजबारे वार्ता गर्नेछौं । यदी सबै सही भए उनलाई मंगलबार प्रशिक्षकको रुपमा सार्वजनिक गर्नेछौं ।’