किलियन एमबाप्पे

एमबाप्पेले मड्रिडमा खेल्ने सपना परिवर्तन गरे: पेरेज

मड्रिड । रियाल मड्रिडका अध्यक्ष फ्लोरेटिनो पेरेजले फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेले स्पेनिस क्लब जान अस्वीकार गरेपछि उनले आफ्नो ‘सपना परिवर्तन गरेको हुनसक्ने’ प्रतिक्रिया दिएका छन् ।

फ्रान्सका २३ वर्षीय स्ट्राइकर एमबाप्पेले पेरिस सेन्ट जर्मन (पिएसजी) सँग तीन वर्षको सम्झौता नवीकरण गरेका छन् । सम्झौताअघि एमबाप्पे स्पेनिस क्लब रियाल मड्रिड भित्रिने चर्को चर्चा चलेको थियो । तर, पिएसजीसँगको सम्झौता नविकरण गरेपछि मड्रिडका अध्यक्ष पेरेजले एमबाप्पेको सपना परिवर्तन भएको हुनसक्ने बताएका हुन् ।

‘अहिले हामीले एमबाप्पेलाई बिर्सिसकेका छौं । यो हाम्रो लागि निकै उत्कृष्ट रह्यो । एमबाप्पेको रियाल मड्रिडमा खेल्ने सपना थियो,’ पेरेजले भने, ‘अगस्टमा हामी सम्झौता गर्न चाहन्थ्यौ । उनले मड्रिडमा खेल्ने इच्छा देखाएका पनि थिए । तर, १५ दिनअघि परिस्थिति परिवर्तन भयो । यो मैले मड्रिडमा भित्र्याउन चाहेको एमबाप्पे थिएनन् । उनी अहिले फरक एमबाप्पे भएका छन्, जसको सपना परिवर्तन भएको छ ।’