नेपाली फुटबल

खेलाडी प्रशिक्षण छाडेर आफैं गएका होइनन्ः कप्तान नवयुग

फाइल फाेटाे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठले बन्द प्रशिक्षणका क्रममा खेलाडी आफैं होटल छाडेर नहिँडेको बताएका छन् ।

एएफसी एसियन कप छनोटको तेस्रो चरण सकेर बिहीबार स्वदेश फर्किएपछि कप्तान नवयुगले पत्रकारसँग कुरा गर्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टोलीको बन्द प्रशिक्षणका क्रममा १० जना खेलाडीलाई होटल छोडेर जाने निर्देशन दिएपछि उनीहरूले होटल छोडेको बताए ।

विमानस्थलमा पत्रकारको कुराकानीमा नवयुगले प्रशिक्षक अल्मुताइरीको व्यवहार आफ्नो लागि पनि चित्तबुझ्दो नरहेकोसमेत बताए ।

‘खेलाडीहरू आफै निस्किएर गएको होइनन् । कोचले तिमीहरू जान सक्छौ भनेपछि खेलाडीहरू गएका हुन् । खेलाडीहरू आफैं होटेल छोडेर गएको चै हैन,’ नवयुगले भने, ‘कोचले खेलाडीहरूलाई होटेल छोडेर जान सक्छौ भन्ने कुरा चाहि चित्तबुझ्दो छैन । कोच आउने नआउने एन्फासँग सम्बन्धित कुरा हो । मसँग कुरा भएको छैन ।’

छनोटको आशाअनुरुपको प्रदर्शन गर्न नसकेको नेपाली टिम घरेलु टिम कुवेतसहित, जोर्डन र इन्डोनेसियासँगै समूह ‘ए’ मा थियो । तीनै खेलमा हार बेहोरेको नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले, दोस्रो खेलमा कुवेतसँग ४–१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो ।

आज स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान नवयुग श्रेष्ठले छनोटमा आशाअनुरुपको प्रदर्शन गर्न नसके पनि नयाँ खेलाडीको प्रदर्शन राम्रो रहेको बताए ।

‘हामी छनोट चै हुन सकेनौ तर, नयाँ भाइहरूको प्रदर्शन चित्तबुझ्दो नै छ । जुन विवाद थियो, नेपालबाट गएपछि सकियो । नयाँ खेलाडीहरू सुरुमा खेल्न डराएजस्तो भए पनि पछि राम्रो भयो,’ नवयुगले भने ।

नवयुगले भइरहेका खेलाडी नपर्दा टिमको प्रदर्शनमा फरक पर्नु स्वभाविक रहेको बताए ।

‘भइरहेको खेलाडीहरू टिममा नहुँदा अलिकति फरक त परिहाल्छ । नयाँ खेलाडीहरूले राम्रो प्रदर्शन गर्यो तर, पुराना खेलाडीहरू भएको भए केही फरक नतिजा आउथ्यो होला । हामी बलियो समूहमा परेका थियौ । प्रदर्शनको हिसाबमा चै केही राम्रो पक्कै हुन्थ्यो होला ।’

‘नयाँ खेलाडीहरूसँग खराब नतिजा भन्न सक्दिन । जोर्डनसँग २–० भन्नु राम्रो जस्तो लाग्छ । दोस्रो खेल कुवेतसँग पनि चित्त बुझेको छ । तेस्रो खेल इन्डोनेसियासँग कोचले नयाँ खेलाडीहरूलाई खेलाउने कुरा गर्नुभयो । त्यही भएर गोल धेरै निस्कियो । नयाँ खेलाडीहरूलाई लिएर नतिजा राम्रै आएको हो ।’

इन्डोनेसियासँग नवयुगको स्थानमा कप्तानी सम्हालेका पुजन उपरकोटी प्रतियोगिताबाट नयाँ खेलाडीहरूले राम्रो अनुभव बटुल्ने मौका पाएको बताए ।

‘नयाँ खेलाडीहरू, त्यसमा हामीले कतारमा १० दिन प्रशिक्षण पनि ग¥यौ । राम्रो अनुभव भयो । उनीहरूलाई आगामी दिनमा हुने प्रतियोगिताको लागि राम्रो अनुभव पनि भयो । मैले खेल्दादेखिको टिमको वातावरण फरक पाए । सबैजना नयाँ छन् ।’

यस्तै, छनोटमा एकमात्र गोल गर्न सफल नेपाली टिम फरवार्ड दर्शन गुरुङ नयाँ खेलाडीले यत्तिको नजिता निकाल्नु सन्तोषजनक भएको बताए ।

‘कुवेतजस्तो टिमलाई गोल हान्न पाउँदा खुशी लागेको छ । ट्रेनिङ अझै गर्न पाएको भए अझ राम्रो गर्न सक्थ्याैं जस्तो लागेको छ । सबै नयाँ खेलाडी हुँदा यतिको नतिजा दिनु राम्रोजस्तो लाग्छ ।’