आर्सनलमाथि सिटीको प्रभावशाली जित

म्यानचेस्टर, (खेलाडी)- ग्रानिट जाकाले रातो कार्ड सामना गरेपछि १० खेलाडीमा सिमित भएको आर्सनलविरुद्ध साविक विजेता म्यानचेस्टर सिटीले शनिबार राति ५-० को फराकिलो जित हासिल गरेको छ ।

फेरान टोरेसले दुई गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गरेपछि सिटीको जित सहज बनेको थियो । 

पोर्चुगाली सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई युभेन्टसबाट भित्र्याउने प्रतिस्पर्धामा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग पछि परेको सिटीले घरेलु लिगअन्तर्गतको खेलमा फराकिलो जित हासिल गर्दै सान्त्वना प्राप्त गरेको छ । 

शनिबार चाडोगरी भएको खेलमा पाएको जितपछि सिटी तीन खेलमा आठ अंक जोड्दै कम्तीमा केही घण्टाका लागि शीर्ष स्थानमा फर्किएको छ । 

ग्याब्रिअल जिससको पासमा इके गुन्डोगानले गोल गर्दै सिटीलाई सातौं मिनेटमा अग्रता दिलाएका थिए । टोरेसले एकल प्रयासमा गोल गर्दै १२औं मिनेटमै सिटीको अग्रता दोब्बर बनाए । 

ग्रानिट जाकाले मध्यान्तर हुन १० मिनेट बाँकी रहँदा जाकाले सोझै रातो कार्ड सामना गरेपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो । विपक्षी टोलीका जोआवो क्यान्सेलोमाथि खतरनाक फाउल गरेपछि रेफ्री मार्टिन एट्किन्सनले जाकालाई सोझै रातो कार्ड दर्शन गराएका थिए । 

विपक्षी टोलीले एक खेलाडी गुमाएको अवसरको उपयोग गर्ने क्रममा सिटीले थप तीन गोल गर्यो ।

हालै मात्र एस्टन भिल्लाबाट भित्र्याइएका इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी ज्याक ग्रिलिसको पासमा ग्याब्रिअल जिससले गोल गर्दै मध्यान्तरसम्म सिटीलाई ३-० को अग्रता दिलाए । 

टोलीका लागि टोरेसको पासमा रोड्रीले ५३औं मिनेटमा चौथो गोल गरेका थिए । टोरेसले समय सकिन ६ मिनेट बाँकी रहँदा रियाद माहरेजको पासमा गोल गर्दै टोलीको जित थप रवाफिलो बनाए ।