केनको दुई गोलमा टोटनहमको सहज जित

पेरिस, (खेलाडी)- ह्यारी केनले सिजनको पहिलो खेल खेल्ने क्रममै गए राति दुई गोल गरेपछि टोटनहम पाकोस डी फरेइरामाथि ३-० को जित हासिल गर्दै युरोपा कन्फरेन्स लिगको पहिलो संस्करणका लागि छनोट भएको छ । 

सरुवा चर्चाले प्रिसिजनलाई बिथोलेपछि उनी बिहीबार पहिलो पटक नयाँ सिजनमा टोटनहमका लागि मैदान उत्रिएका थिए ।

सरुवा बजारमा उनको भविश्यलाई लिएर विभिन्न चर्चा चले पनि अन्तत टोटनहमले केनलाई बेच्न अस्विकार गरेको थियो । केन अन्यत्र जाने सम्भावना तत्कालका लागि टरेपछि टोलीले उनलाई गए राति पहिलो रोजाईमा मैदान उतारेको थियो । 

युरोपेली क्लब फुटबलमा तेस्रो दर्जाको प्रतियोगिताको समूह चरणमा पुग्नका लागि गएराति टोलीलाई महत्वपूर्ण जित दिलाउने क्रममा केनले पहिलो हाफमै दुई गोल गरिसकेका थिए । नवौं मिनेटमा खाता खोलेका केनले मध्यान्तर हुन १-० मिनेट बाँकी रहँदा दोस्रो गोल गरे । ७०औं मिनेटमा जियोभानी लो सेल्सोले टोटनहमका लागि तेस्रो गोल गरे ।

पहिलो लेगमा १-० को पराजय भोगेको टोली दोस्रो लेगको यो प्रभावशाली जितपछि ३-१ को समग्र अन्तरसहित युरोपा कन्फरेन्स लिगमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

युरोपा कन्फरेनस लिगअन्तर्गत गए राति नै सम्पन्न अन्य खेलमा आवश्यक नतिजा निकाल्दै युनियन बर्लिन, क्वाराबाग एफके, फ्लोरा तालिन, पार्टिजान बेलग्रेड, फेयर्नुड, एफसी कोपनहेगन, एफसी बासेल र एएस रोमाले पनि मुख्य प्रतियोगिताका लागि स्थान सुरक्षित गरे । 

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले महादेशको क्लब फुटबल संरचना थप बलियो बनाउने क्रममा यसै सिजनदेखि कन्फरेन्स लिगको सुरुआत गरेको हो । 

युरोपमा यसअघि नै क्लब फुटबलमा च्याम्पियन्स लिग र युरोपा लिग भइरहेका थिए । च्याम्पियन्स लिग युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता हो । युरोपा लिग चाँही दोस्रो दर्जाको प्रतियोगिता हो ।