लाजियोका कोरिया इन्टरमा

मिलान, (खेलाडी)- इटालियन सिरी ‘ए’को च्याम्पियन इन्टर मिलानले घरेलु लिगको प्रतिद्वन्द्वी लाजियोबाट जोआक्विन कोरियालाई भित्र्याउने प्रक्रिया पूरा गरेको छ । 

अर्जेन्टिनी अन्तर्राष्ट्रिय खेलाडीका लागि इन्टरले सुरुमा ४३ लाख युरो सरुवा रकम तिरेको लाजियोले जनाएको छ । लाजियोका अनुसार कोरियाको प्रदर्शनका आधारमा इन्टरले थप ८ लाख ५० हजार युरो तिर्नु पर्न सक्नेछ । 

रोमेलु लुकाकु चेल्सी तथा अचरफ हाकिमी पेरिस सेन्ज जर्मन (पिएसजी) सरुवा भएपछि आक्रमणमा केही कमजोर बनेको इन्टरलाई कोरियाको आगमनले मनोबल उच्च पार्न ठूलो योगदान गरेको छ । 

कोरियाले गत सिजन घरेलु लिगका २८ खेलमा आठ गोल गरेका थिए । तीन गोलका लागि पास उपलब्ध गराएका उनले थप २९ अवसर सिर्जना गरेका थिए । 

इन्टरसँग अनुबन्धनका सबै औपचारिकता पूरा गरिसकेका कोरियाले शुक्रबार भेरोनाविरुद्धको खेलबाट नयाँ क्लबको जर्सीमा डेब्यु गर्न सक्नेछन् ।