खेलाडी रिलिज गर्न प्रिमियर लिग र ला लिगालाई इन्फान्टिनोको अनुरोध

जेनेभा, (खेलाडी)- विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आसन्न अन्तर्राष्ट्रिय ब्रेक दौरान आफ्ना खेलाडी रिलिज गरेर ऐक्यबद्धता जनाउन इङ्लिस प्रिमियर लिग र स्पेनिस ला लिगाका क्लबहरुलाई आह्वान गरेका छन् ।

यो सप्ताहन्तका खेलहरुपछि दुई हप्तासम्म विश्व फुटबल अर्को वर्ष कतारमा हुने विश्वकप छनोट तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा व्यस्त हुनेछ । 

तर कोभिड १९ महामारीका कारण अत्यन्त जोखिमको सुची (रेड जोन)मा रहेका देशबाट आउनेले अनिवार्य १० दिनको क्वारेन्टिन बस्नुपर्ने बेलायती सरकारको नियमका कारण प्रिमियर लिगले त्यस्ता देशका खेलाडीलाई रिलिज नगर्ने निर्णय गरेको थियो । 

प्रिमियर लिगबाट रिलिज भए बेलायती सरकारको रेड जोन सुचीमा रहेका २६ देशका ६० खेलाडीले अन्तर्राष्‍ट्रिय खेलका लागि भ्रमण गर्न पाउनेछन् । तर उनीहरु बेलायत फर्किएपछि सामान्य जीवनमा आउनुअघि होटलमा अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्छ । 

इङ्लिस प्रिमियर लिग अन्तर्राष्ट्रिय ब्रेकपछि सेप्टेम्बर ११ मा पुन सुचारु हुनेछ । 

प्रिमियर लिगको निर्णयलाई पछ्याउँदै स्पेनिस ला लिगाले पनि दक्षिण अमेरिकाका खेलाडी नपठाउँने क्लबहरुको निर्णयमा सहमति जनाएको छ । 

ला लिगाका विभिन्न १३ क्लबबाट २५ खेलाडी दक्षिण अमेरिकाका विभिन्न देशले आगामी अन्तर्राष्टिय खेलहरुका लागि टिममा समावेश गरेका छन् । 

तर इन्फान्टिनोले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि पत्राचार गर्दै खेलकुदको भावना जोगाउने अभियानमा ऐक्यबद्धता जनाउन अनुरोध गरेका छन् । 

इन्फान्टिनोले फिफाका सबै सदस्य संघ, देश, सबै लिग र सबै क्लबहरुलाई यो विश्वव्यापी खेल जोगाउने अभियानमा लाग्न आह्वान गरे । 

‘विश्वका थुप्रै सर्वोत्कृष्ट खेलाडीहरु इङ्ल्यान्ड र स्पेनमा लिग खेल्छन् । मेरो विचारमा ति देशहरुले पनि खेल भावना जोगाउन योगदान गर्नुपर्छ,’ इन्फान्टिनोले भनेका छन्, ‘वेम्बलीमा भएको युरो २०२० को अन्तिम चरणमा बेलायती सरकारले जस्तै मापदण्ड सबै खेलमा पालना गरिनेछ ।’