फराकिलो जितसहित साउथह्याम्पटन लिग कपको तेस्रो चरणमा

लन्डन (खेलाडी)- मोहम्मद एलओनौसीको ह्याट्रिककमा साउथह्यामटनले न्युपोट काउन्टिलाई ८-० को एकतर्फी नतिजामा हराउँदै इङ्लिस लिग कपको तेस्रो चरणको टिकट पक्का गरेको छ ।

खेलको नवौ‌ं मिनेटमा अर्मान्डो ब्रोर्जाको गोलमा साउथह्यामटनले अग्रता लिएको थियो । २५औं मिनेटमा नाथन टेल्लाले टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिम मिनेटमा काइल वाल्कर पिटर्सको गोलमा साउथह्यामटनले अग्रता बढाएको थियो । पहिलो हाफमा ३ गोल गरेको टोलीे दोस्रो हाफमा थप आक्रामक बन्दा ५ गोल थप्यो ।

४८औं मिनेटमा एलओनौसीले साउथह्यामटनको अग्रता ४-० मा पुर्‍याएका थिए । ५५औं मिनेटमा एलओनौसी तथा त्यसको एक मिनेटपछि बोर्जाको गोलमा साउथह्यामटनले रवाफिलो जितको संकेत गरेको थियो ।

६९औं मिनेटमा नाथन रेडमन्डले साउथह्यामटनका लागि सातौं गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा एलओनौसीले ह्याट्रिक पूरा गरेपछि टोली सानदार जितका साथ अघिल्लो चरणको यात्रामा लाग्यो । 

लिग कपकै अर्को खेलमा बुधबार राति बर्नलीले पेनाल्टी सुटआउटमा न्युक्यासल युनाइटेडमाथि ४-३ को जित हासिल गर्दै तेस्रो चरणको टिकट काट्यो । 

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो, जहाँ बर्नली भाग्यमानी सावित भयो ।