इटालियन सिरी ‘ए’

स्वभाविक लय समाउन सकिनः भ्लोहोभिच

मिलान । डुसान भ्लाहोभिचले इटालियन सिरी ‘ए’ क्लब युभेन्टसमा आफूले फियोरेन्टिनामा जस्तो लय समाउन नसकेको बताएका छन् ।

युभेन्टसले फियोरेन्टिनाविरुद्ध खेल्दै यस सिजनको अन्त्य गर्दैछ । भ्लोहोभिच जनवरीमा फियोरेन्टिनाबाट ७० मिलियन युरोमा युभेन्टस भित्रिएका थिए । 

युभेन्टस भित्रनु अघि उनले फियोरेन्टिनाबाट सिरी ‘ए’को २१ खेलमा १७ गोल गरेका थिए । तर युभेन्टस आएपछि भने उनले गोल लयलाई कायम राख्न सकेनन् । उनले युभेन्टसका लागि १४ खेलमा सात गोल गरे ।

युभेन्टस लगातार दोस्रो सिजन सिरी ‘ए’ को चौथो स्थानमा रहने पक्का भैसकेको छ । यसअघि युभेन्टस लगातार नौ सिजन सिरी ‘ए’ को विजेता थियो । 

युभेन्टस यसै महिना इन्टर मिलानसँग कोपा इटालियाको फाइनलमा पराजित भएको थियो ।

भ्लाहोभिचले युभेन्टसमा आएपछि सोचे अनुरुपको प्रदर्शन गर्न नसके पनि यहाँ आउने आफ्नो निर्णयमा भने कुनै गुनासो नभएको बताए । 

‘मलाई युभेन्टसबाट सिरी ’ए ‘च्याम्पियन बन्ने इच्छा छ । आशा छ हामी उपाधिका साथ आगमी सिजन पुनः च्याम्पियनको लयमा फर्कने छौ । मैले आफ्नो प्रदर्शनमा पनि धेरै सुधार गर्नु पर्नेछ र म त्यसका लागि तयार छु ।’