राष्ट्रिय महिला लिग

महानगरले पैसा नदिँदा राष्ट्रिय महिला लिग अनिश्चित!

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु भएर बीचमा पुगेको राष्ट्रिय महिला लिग अनिश्चित बनेको छ । चितवनमा हुने भनिएका सातौं चरणसम्मका खेल सकिएपछि रोकिएको राष्ट्रिय लिगका बाँकी खेल जेठ ७ गतेबाट हुने तय थियो ।

तर, विराटनगर महानगरपालिकाले दिने भनेको ४५ लाख रूपैयाँ नदिएकाले पूर्व घोषित मितिमा लिग पुनः सुचारु हुन नसकेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

‘हामीले जेठ ७ गतेदेखि विराटनगरमा हुने खेल गराउने योजना बनाएका थियौं,’ खेलाडीसँग महासचिव तुलाधरले भने, ‘तर, महानरपालिकाले दिने भनेको पैसा चुनावका कारण अझै आएको छैन । त्यसैले गर्न सकिएन । अब जेठ अन्तिमबाट गर्ने तयारी गरेका छौं ।’

सात खेलमा सतप्रतिशत नतिजा निकालेको एपिएफ क्लब २१ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा रहँदा समान खेलबाट १५ अंक बटुलेको नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ ।