सहिद स्मारक ‘सी’ डिभिजन लिग

महाविरको पुनरागमन जित

काठमाडौं । महाविर क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा खालिबारी युथ फुटबल क्लबविरुद्ध पुनरागमन जित निकालेको छ । बुधबार महाविरले खालिबारीलाई २–१ ले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा महाविरका लक्ष्मण विडारीबाट आत्मघाती गोल भएपछि २८औं मिनेटमा खालिबारीले अग्रता लिएको थियो । तर, ५२औं मिनेटमा रेमन तामाङले गोल गरेपछि महाविर खेलमा फर्किएको थियो ।

यस्तै, खेलको ६५औं मिनेटमा रेमनले नै गोल गर्दै महाविरको जित निश्चित गरे ।

जितसँगै लिगमा महाविरले आठ खेलबाट १२ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको खालिबारीको १० अंक छ ।

लिगमा सहभागि १४ टोलीमध्ये शीर्ष दुई टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ छनोटमा घटुवा हुनेछन् ।