सहिद स्मारक ‘सी’ डिभिजन लिग

आरसी ३२ को पहिलो हार

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शीर्ष स्थानको आरसी ३२ फुटबल एकेडेमीले पहिलो हार बेहोरेको छ । लिगअन्तर्गत बुधबारको दोस्रो खेलमा आरसी ३२ प्लानिङ ब्वाइज युनाइटेडसँग ३–१ पराजित भयो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा प्लानिङ ब्वाइजलाई जित दिलाउन फागुराम थारुले ह्याट्रिक गरे । यता, आरसी ३२ का विवेक सन्तोषीले एक गोल फर्काएका थिए ।

खेलको सातौं मिनेटमा साधुरामले प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका थिए । यस्तै, २८औं मिनेटमा साधुरामले टोलीको अग्रता दोब्बर पारे ।

खेलको ५७औं मिनेटमा आरसी ३२ का विवेकले एक गोल फर्काएका थिए ।

खेलको ७५औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै साधुरामले ह्याट्रिकसँगै प्लानिङ ब्वाइजको सहज जित निश्चित गरेका थिए ।

हारसँगै शीर्ष स्थानको आरसी ३२ ले दोस्रो स्थानको झापा फुटबल क्लबसँग अग्रता लिने सुनौलो अवसर गुमायो । हारका बावजुद शीर्ष स्थानमा रहेको आरसी ३२ ले आठ खेलबाट १९ अंक जोडेको छ ।

यस्तै, समान खेल खेलेका प्लानिङ ब्वाइजले १६ अंक जोडेको छ ।