इङ्लिस प्रिमियर लिग

लिभरपुलको उपाधि सम्भावना जीवितै

लन्डन । जोयल माटिपको गोलमा लिभरपुलले सोमबार  साउथहमटनलाई २-१ ले पराजित गरेसँगै इङलिस प्रिमियर लिगको विजेताको टुङगो अन्तिम दिन मात्र लाग्ने भएको छ ।

लिभरपुल ३७ खेलमा ८९ अंकसहित दोस्रो स्थानमा यथावत छ । जुन शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा मात्र एक अंक कम हो । उपाधि रक्षाको लक्ष्यमा रहेको सिटीले अन्तिम खेलमा एस्टन भिल्लाको सामना गर्नेछ भने लिभरपुलले उल्भरहमटनविरुद्ध खेल्नेछ ।

उपाधि रक्षाका लागि सिटीले आइतबार घरेलु मैदान इत्तिहाद रंगशालामा एस्टन भिल्लालाई पराजित गर्नु पर्नेछ । सिटीको हार वा बराबरीले लिभरपुललको उपाधि सम्भावना बलियो हुनेछ । लिभरपुलले उल्भरहमटनसँग अंक बाँडेमा भने हारका बाबजुद पनि सिटी प्रिमियर लिग विजेता बन्नेछ ।

शनिबार एफए कपका चेल्सीविरुद्ध उतारेको टोलीमा लिभरपुलका प्रशिक्षक योर्गान क्पालेले साउथहमटनविरुद्ध नौ खेलाडी परिवर्तन गरेका थिए । 

१३औं मिनेटमा नाथन रेडमन्डको गोलमा साउथहमटनले अग्रता लिएको थियो । २७औं मिनेटमा ताकुमी मिनामिनोले लिभरपुललाई खेलमा फर्काएका थिए । माटिपले ६७औं मिनेटमा गरेको गोलमा लिभरपुलले महत्वपूर्ण तीन अंकसहित प्रिमियर लिगको उपाधि सम्भावना जीवित राखेको हो ।