सहिद स्मारक ‘सी’ डिभिजन लिग

समाज कल्याण र स्पोर्टस एकेडेमी साँगाले अंक बाँडे, झापाको पहिलो हार

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार समाज कल्याण खेलकुद केन्द्र र स्पोर्टस एकेडेमी साँगाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निरक लिङ्देनले ८६औं मिनेटमा गरेको गोलबाट स्पोर्टस एकेडेमीले अग्रता लिएको थियो । तर, इन्जुरी विपिन पराजुलीले गोल गरेपछि समाज कल्याण खेलमा फर्किएको थियो ।

बराबरीसँगै आठ खेलबाट ११ अंक जोडेको समाज कल्याण तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट ६ अंक जोडेको साँगा तालिकाको ११औं स्थानमा छ ।

यस्तै, आजै भएको अर्को खेलमा फिलिप तामाङको निर्णायक गोलमा रानिबारी स्पोर्टस क्लबले झापा फुटबल क्लबलाई १–० ले पराजित गर्याे ।

हारसँगै झापाले शीर्ष स्थानमा उक्लिने सुनौलो मौका गुमायो । तालिकाको दोस्रो स्थानमा रहेको झापाले आठ खेलबाट १९ अंक जोडेको छ । लिगमा झापाको यो पहिलो हार हो । यस्तै, समान खेलबाट १० अंक जोडेको रानिबारी तालिकाको १०औं स्थानमा छ ।