खेलाडी प्रशिक्षक विवाद

खेलाडी प्रशिक्षक विवाद: आज पदाधिकारी र टेक्निकल कमिटीसँग बयान लिइने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुृतारी र खेलाडीबीचको विवाद समाधानका लागि गठित छानबिन समितीले आज अखिल नेपाल फुटबल संघ(एन्फा) का पदाधिकारी तथा टेक्निकल कमिटिसँग बयान लिने भएको छ ।

गत साता एन्फाले विवाद समाधानका लागि भिक्टर रानाको संयोजकत्वामा तीन सदस्यीय छानबिन समिती गठन गरेको थियो । सो समितीलाई छानबिनको प्रतिवेदन बुझाउन आइतबार सम्मको समय दिइएको थियो ।

सो समितीका एक सदस्यले छानबिन अन्तिम चरणमा पुगेको र पदाधिकारी र टेक्निकल कमिटिको बयानपछि छिट्टै प्रतिवेदन ब्ुझाउने बताएका छन् ।

समितीले यसअघि मुख्य प्रशिक्षक अल्मुताइरी, व्यवस्थापक मधुसुधन उपाध्याय तथा बन्द प्रशिक्षणबाट बाहिरिएका १० खेलाडीसँग बयान लिइसकेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आधारभूत आवश्यकताको विषयमा छलफल गर्न जाँदा बन्द प्रशिक्षण नै छाड्न भनेपछि बाहिरिएको बताउँदै खेलाडीहरू त्यसको भोलि पल्टदेखि नै ‘न्याय’ माग्दै भौतारिइरहेका छन् ।

नेपाली राष्ट्रिय टिम अर्को महिना कुवेतमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीमा छ । त्यसका लागि बन्द प्रशिक्षणमा रहेका प्रमुख खेलाडीहरू अहिले अभ्यासमा छैनन् । घरेलु मैदानमै प्रारम्भिक चरणका अभ्यासपछि थप तयारीका लागि नेपाली टिम कतार जाने तयारीमा छ ।

तर, टिमका प्रमुख खेलाडी बाहिरै छन् । र, एसियन कप छनोटको मिति नजिकै आइसक्दा नेपाली टिम कुन कुन खेलाडी लिएर कतार जान्छ भन्ने निश्चित छैन ।

प्रमुख खेलाडी बाहिरिएपछि १७ खेलाडी थप गर्र्दैे अल्मुताइरीले भने प्रशिक्षणलाई निरन्तरता दिइरहेका छन् । यद्धपी स्थानिय निर्वाचनका कारण २८ गते देखी रोकिएको प्रशिक्षण आइतबारबाट सुरु भएको थियो ।