महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने 


काठमाडौं, (खेलाडी)- नेपाली महिला राष्ट्रिय फुटबल टोलीले यसै महिना बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघका पदाधिकारीहरुले खेलाडीलाई जानकारी गराएअनुसार यही भदौको अन्तिममा दुई मैत्रीपूर्ण खेलका लागि नेपालले बंगलादेशको महिला राष्ट्रिय टोलीलाई निम्त्याउने पक्का भएको छ । 

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल भदौको २४ र २७ गते हुनेछ । दुईमध्ये एक खेल दशरथ रंगशालामा गराउने एन्फाले आन्तरिक निर्णय गरिसकेको छ । तर दोस्रोको लागि भने स्थान तय गरिनसकेको एन्फा महासचिव इन्द्रमान तुलाधरले खेलाडीसँग भने । एन्फाले पोखरामा दोस्रो मैत्री खेल खेलाउने तयारी गरिरहेको उनले जानकारी गराए । 

त्यसअघि पुरुष टोलीले दशरथ रंगशालाको मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । पुरुष टोलीको मैत्रीपूर्ण खेल भदौ १७ र २० गते हुनेछ ।

‘पोखरा रंगशाला निर्माणको काम अझै सकिइसकेको छैन । त्यहाँ चेन्जिङ रुमलगायतका पूर्वाधार निर्माणाधिन अवस्थामा छ । त्यो कामलाई तिब्रता दिनेमा हामी लागेका छौं । सकेसम्म एउटा खेल पोखरामा खेलाउने हाम्रो उद्देश्य छ,’ तुलाधरले भने, ‘समयमै पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गर्न सकिएन भने दुवै खेल दशरथ रंगशालामै हुनेछ ।’ 

त्यसअघि पुरुष टोलीले दशरथ रंगशालाको मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । पुरुष टोलीको मैत्रीपूर्ण खेल भदौ १७ र २० गते हुनेछ ।

कोभिड १९ को महामारीका कारण देशमा अझैसम्म ठूलो संख्यामा जमघट हुने कार्यक्रमहरु निलम्बनमा छन् । तथापि एन्फाले भने यसका लागि सम्बन्धित निकायसँग स्विकृति लिने काम गरिसकेको एन्फा पदाधिकारीहरु दाबी गर्छन । 

मैत्रीपूर्ण खेलका लागि महिला टोली सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा अभ्यासमा छ । महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार सात नयाँ खेलाडीलाई समावेश गर्दै २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।