स्पेनिस ला लिगा

सेभिया च्याम्पियन्स लिगमा

मड्रिड । यौसुफ इन नेसरीको गोलमा एट्लेटिको मड्रिडसँग हारको संकट टार्दै सेभियाले आइतबार स्पेनिस ला लिगाको चौथो स्थानमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

एट्लेटिको र सेभियाले आइतबार सम्पन्न खेलमा १-१ को बराबरी खेलेका हुन् । ३७ खेलबाट सेभियाको ६७ अंक रह्यो । जुन पाँचौ स्थानको रियाल बेटिस भन्दा चार अंक बढी हो । लिगमा अब अन्तिम चरणको मात्र खेल बाँकी छ । 

३०औं मिनेटमा जेमिनेजले गरेको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा नेसरीले सेभियालाई खेलमा फर्काएका थिए । 

लिग च्याम्पियन रियाल मड्रिडसँगै दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको एट्लेटिकोले यसअघि नै च्याम्पियन्स लिगमा स्थान बनाइसकेका थिए । चौथो स्थानका लागि सेभिया र रियाल बेटिसबीच प्रतिस्पर्धा थियो ।

शीर्ष स्थानको रियालको ३७ खेलमा ८५ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७३ र तेस्रो स्थानको एट्लेटिकोको ६८ अंक छ ।

आइतबार सम्पन्न अन्य खेलमा रियाल काडिचसँग १-१ को बराबरीमा रोकिँदा बार्सिलोनाले गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।